• १० मंसिर २०८१, सोमबार

बझाङ उपनिर्वाचन : उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक

blog

चैनपुर (बझाङ), वैशाख १३ गते । शनिबार हुने प्रदेश सभा १ (१) को निर्वाचनका लागि बझाङमा उम्मेदवारले फेरि पनि आफ्ना साझा एजेण्डाका रूपमा ताक्लाकोट सडकलाई अघि सारेका छन् ।

साढे तीन दशकदेखि चर्चामा रहेको चीन जोड्ने सडक सपनाको आयोजना भन्दै उम्मेदवारहरू आफूले जितेमा पूरा गर्ने प्रतिबद्धता जनाइरहेका छन् । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भानुभक्त जोशी र नेकपा (एमाले)का उम्मेदवार ऐन महरको प्रमुख एजेण्डा पनि ताक्लकोट सडक नै थियो ।

प्रदेश सभा सदस्यका उम्मेदवार कांग्रेसका स्व पृथ्वीबहादुर सिंह, एमालेका अफिलाल ओखेडा, माओवादीका भीम भण्डारीको चुनावी एजेण्डा पनि सोही सडक निर्माण थियो । बझाङको राजनीतिको बागडोर सम्हाल्नुभएका वर्तमान सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री भानुभक्त जोशी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनजंगबहादुर सिंह २०४८ सालदेखि नै निर्वाचन लड्दै आउनुभएको छ । पाँच÷पाँच पटक चुनाव लडिसक्नुभएका सिंह र जोशीको सुरुदेखि कै एजेण्डा चैनपुर–ताक्लाकोट सडक नै हो ।

चीनले दशकअघि नै ताक्लाकोटमा सडक पुर्‍याउँदासमेत नेपालको पक्षमा जनतालाई आश्वासन मात्रै भइरहेको छ । “लामो समय बित्दासमेत काम नहुनु र पार्टीगत प्रचार मात्रै हुनुले जनतालाई अन्योलमै राख्नु हो”, साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले भन्नुभयो, “ताक्लाकोट सडक बनाउँछौँ भनेर सुनेको ३२/३३ वर्ष भइसक्यो, अहिलेसम्म रुपातोलाभन्दा माथि सडक पुग्न सकेको छैन, सबै दलहरूले त्यसैको नाममा खेतीपाती गरिरहेका छन् ।”

उहाँका अनुसार अहिले पालिकाले तलकोटबाट कुवा हुँदै सडक काटिरहेको छ । “पालिकासँग धेरै बजेट हुँदैन, हाम्रो क्षमताअनुसार पालिकामा सडक पुर्‍याएर माथिबाट ताक्लाकोट सडक काट्ने गरी लागिरहेका छौँ”, उहाँले भन्नुभयो ।

ताक्लाकोट सडकमा करोडौँको योजनाबाट खासै काम नभएको उहाँले बताउनुभयो । “सबै दलले प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनको बेलामा सडक बनाउने आश्वासन दिन्छन्, भोट माग्छन् र फर्केर आउँदैनन्”, उहाँले भन्नुभयो ।

वि.सं. २०४८ यता भएका हरेक चुनावमा उम्मेदवारको एउटै एजेण्डा ताक्लाकोट सडक साझा बनिरहेको खप्तडछान्ना गाउँपालिका–५ का राजेश कार्कीले बताउनुभयो । “बझाङमा उम्मेदवार फेरिए पनि एजेण्डा फेरिएनन्, एउटै सडकका लागि तीन दशक लामो राजनीति भइरहेको छ, जहिल्यै उम्मेदवारले एउटै एजेण्डाको भजन गाइरहेका छन्”, उहाँले भन्नुभयो ।

कार्कीका अनुसार ताक्लाकोट सडक बनाउँदा बझाङ्गी उत्पादनले बजार पाउने, आर्थिक गतिविधि बढ्नेलगायतका आश्वासन हरेक निर्वाचनमा आउने गरेका छन् । “सडक निर्माण भने निकै कछुवा गतिमा छ, हरेक दलले आफ्नो पार्टीले सडकका लागि बजेटको व्यवस्था गरिरहेको र फेरि पनि बजेट हाल्ने आश्वासन दिइरहेको छन्”, उहाँले भन्नुभयो ।

अहिले बझाङमा हुन गइरहेको उपनिर्वाचनका लागि पनि उम्मेदवारको एजेण्डा ताक्लाकोट सडक नै छ । नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले चैनपुर–ताक्लाकोट सडक विस्तार गर्ने योजना बनाउनुभएको छ । एमालेका उम्मेदवार दमन भण्डारीले चैनपुर–ताक्लाकोट सडकलाई सुरुङ मार्गद्वारा चीनको सिमानासम्म पुर्‍याउन पहल गर्ने एजेण्डा राख्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले पनि देशको आर्थिक उन्नतिको बाटो खोल्न ताक्लाकोट सडक निर्माण र स्तरोन्नति गर्ने एजेण्डा सार्वजनिक गर्नुभएको छ । उहाँले बझाङ्गीलाई धनी बनाउन सडक नै ताक्लाकोट सडक नै चाहिने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काको एजेण्डा पनि चीन सरकारको सहयोगमा चैनपुर ताक्लाकोट सडक निर्माण गर्ने छ ।

नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाको चुनावी प्रतिविद्धतामा चैनपुर–ताक्लाकोट (उरै) सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न पहल गर्ने उल्लेख छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार किशोर खड्काले चैनपुर–ताक्लाकोट सडकलाई आफ्नै पालामा सञ्चालनमा ल्याउने गरी लाग्ने एजेण्डा बनाउनुभएको छ ।

यसरी हरेक उम्मेदवारले ताक्लाकोट सडकलाई प्राथमिकतामा राखेका छन् । तीन दशकसम्म सडकको अवस्था भने कछुवा गतिमा अघि बढेको छ । चीनले उरै भन्ज्याङ नजिकै ठाडो ढुङ्गासम्म सडक निर्माण गरिसकेको छ ।

बझाङ सदरमुकाम चैनपुरबाट एक सय तीन किलोमिटर दूरीमा पर्ने उरैमा पुग्न नेपालतर्फबाट भने अझै ६३ किलोमिटर सडक खन्न बाँकी रहेको इन्जिनियरसमेत रहनुभएका कार्कीले बताउनुभयो । उहाँका अनुसार कछुवा गतिमा काम भइरहेको सेती लोकमार्ग उत्तर खण्डअन्तर्गत पर्ने यो सडक निर्माणका लागि दुई वटा ठेकेदार कम्पनीले काम गरिरहेका छन् ।

भौतिक प्रगति सन्तोषजनक नभएको सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर–ताक्लाकोट) सडक आयोजना कार्यालयले जनाएको छ । करिब १८ किलोमिटर दूरीको चैनपुर–रुवातोला सडकलाई चौडा बनाउने कामका लागि २०७३ मा ठेक्का सम्झौता भएर काम सुरु गरेको लुम्बिनी र राजेन्द्र निर्माण सेवाले हालसम्म काम सम्पन्न गर्न सकेको छैन । रासस