• २२ वैशाख २०८१, शनिबार

१६ औं पञ्चवर्षीय योजना सनातनी र परम्परागत भयोः स्वास्थ्यमन्त्री

blog

उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव

काठमाडौँ, वैशाख १३ गते । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले १६ औं पञ्चवर्षीय योजनामा कृषि, पर्यटन, उर्जाको क्षेत्रलाई प्राथमिकता दिन नसकेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषिलाई औद्योगिकरण गरेर मात्रै गरिबीहरुको बेरोजगारी घटाउन सकिने भए पनि कृषि क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो गर्नुभयो ।

उहाँले उद्योग धन्दाहरु सञ्चालन गर्ने, शिक्षा, स्वास्थ्यको क्षेत्र पनि सरकारको प्राथमिकतामा नपरेको बताउनुभयो । उहाँले विगतमा अत्याधिक मुनाफामा सञ्चालित रहेका उद्योगहरु गलत नीतिका कारण र निजीकरण, उदारीकरणको बढी प्रभावमा बहकिँदा बन्द भएको बताउनुभयो ।

स्वास्थ्यमन्त्री यादवले बन्द भएका उद्योगहरु कसरी सञ्चालन गर्ने भनेर १६ औं पञ्चवर्षीय योजनामा नराखिएको बताउनुभयो । उहाँले नयाँ उद्योगहरु खोल्ने र लगानी गर्ने वातावरण कसरी सिर्जना गर्ने ? भन्नेकुरा पनि प्राथमिकतामा नपरेको बताउनुभयो । उहाँले परम्परागत प्रणालीको कृषिलाई आधुनिकीकरण नभइकन र ल्याण्ड म्यानेजमेण्ट सिस्टममा आमुल परिवर्तन नगरी र नीति निर्माण नगरी यथास्थितिमा विकास सम्भव नरहेको बताउनुभयो ।

‘‘नेपाल कृषिप्रधान भन्यो र सबैकुरा बाहिरबाट किनेर ल्याउने अवस्था भयो । उद्योगहरु दोस्रो कुरा हो । विगतमा अत्याधिक मुनाफामा सञ्चालित रहेका उद्योगहरु जहाँ लाखौँ रोजगारी पाएका थिए, ति उद्योगहरु बन्द भएका छन्, गलत नीतिका कारण । निजीकरण, उदारीकरणको बढी प्रभावमा बहकिएर ति उद्योगहरु सबै बन्द भएका छन् । त्यसलाई कसरी सञ्चालन गर्ने ? र नयाँ उद्योगहरु खोल्ने र लगानी गर्ने वातावरण कसरी सिर्जना गर्ने ? त्यस विषयमा प्राथमिकतामा पर्नुपर्छ ।,’’ स्वास्थ्यमन्त्री यादवले भन्नुभयो, ‘‘हामीसँग ठूलो सम्भावना भएको पर्यटन हो । हाइड्रो हो । यति विकास गर्नसके पनि मुलुकमा गरिबी र बेरोजगारी रहँदैन । तर मैले त्यो प्राथमिकतामा राखेको पाइनँ । वा मैले नबुझेर हो की ? तर मैले यसमा मुख्य प्राथमिकतामा देखिनँ । मुख्य प्राथमिकता कृषि हो, कृषिसँग जोडिएका सिँचाइ लगायतका हुन्छन् । परम्परागत प्रणालीको कृषिलाई आधुनिकीकरण नभइकन र ल्याण्ड म्यानेजमेण्ट सिस्टममा आमुल परिवर्तन नगरी र नीति निर्माण नगरी यथास्थितिमा सम्भव छैन ।’’

उपप्रधानमन्त्री यादवले प्राथमिकता दिँदा शैक्षिक, आर्थिक रुपले अति छाडि परेका विपन्न वर्ग र मानवीय जीवनमा समेत मानवीय रुपमा बाँच्न नसकेका व्यक्तिलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले योजना आयोगले पुरानो तौरतरिकाबाट अघि बढेर योजना बनाउन आवश्यक रहेको बताउनुभयो । सङ्घीयता कमजोर भएर प्रदेशलाई अपाङ्ग बनाएर विकास हुन नसक्ने जानकारी दिनुभयो । उहाँले १६ औं पञ्चवर्षीय योजनामा सनातनी र परम्परागत योजनाहरु रहेको बताउनुभयो ।