• १० मंसिर २०८१, सोमबार

धनकुटाको कोसेली नरिवल बिस्कुट

blog

नरिवलको बिस्कुट ।

धनकुटा, वैशाख १२ गते । के तपाई धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य नरिवलको बिस्कुट खान नभुल्नुस् । मिठो स्वादसहितको बिस्कुट आफन्तलाई कोसेलीकोरुपमा लैजान पनि सक्नुहुन्छ । धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीकोरुपमा किन्ने गरेका छन् । त्यसो त धनकुटामा उत्पादित नरिवल बिस्कुटको इतिहास ७० वर्ष पुरानो हो । 

हातबाट निर्मित नरिवल बिस्कुट कुनै बेला चियासँग खाजाकोरुपमा खाने गरिन्थ्यो । वि.सं.२०११ मा स्थापित धनकुटा नगरपालिका-४ स्थित मोहन बिस्कुट उद्योग जिल्लाकै सबैभन्दा पुरानो घरेलु बिस्कुट उद्योग हो । औपचारिकरुपमा वि.सं.२०३० मा उद्योग दर्ता गरी सञ्चालनमा आएको यस उद्योगबाट बिस्कुट बनाउन सिकेर अहिले जिल्लामा १८ वटा घरेलु नरिवल बिस्कुट उद्योग सञ्चालनमा छन् ।

उद्योग सञ्चालक मोहन श्रेष्ठका अनुसार अहिले उद्योगले दैनिक दुई सयदेखि एक हजार झोलासम्म नरिवल बिस्कुट उत्पादन गर्छ । उत्पादित बिस्कुट धनकुटा बजार पर्यटकीय नगरी भेडेटार र तेह्रथुम जिल्लाको जिरिखिम्तीलगायतका स्थानबाट कोसेलीका रूपमा बिक्री हुने गरेको छ । बाह्र जना कामदार राखेर १६ प्रकारको बिस्कुट उत्पादन गर्दै आएको उद्योगले नरिवल बिस्कुट बाहिरबाट जिल्ला आउने र जिल्लाबाहिर जानेले कोसेलीका रूपमा लाने गरेका छन् । 

त्यस्तैगरी धनकुटा नगरपालिका-६ पात्लेखोलाको ओम बिस्कुट उद्योगले दैनिक तीनदेखि चार सय झोला नरिवल बिस्कुट उत्पादन गर्दै आएको छ । विगत १२ वर्षदेखि नरिवल बिस्कुट उत्पादन गर्दै आएको उद्योगका सञ्चालक टीका कटुवालले आफ्नो उद्योगबाट उत्पादित बिस्कुट कोसेलीकैरुपमा बिक्री हुने गरेको जानकारी दिनुभयो । कटुवालका अनुसार जिल्लामा घुम्न आउनेले कोसेलीका रूपमा लाने र जिल्लाबाट बाहिर जाँदा आफन्तलाई बिस्कुट कोसेली लाने चलन छ । 

“यहाँ खाएर त सकिने कुरै भएन जिल्लामा उत्पादन भएको सबै बिस्कुट कोसेलीका रूपमा नै जाने हो”, कटुवालले भन्नुभयो । त्यस्तै २०६६ सालबाट दुई लाख लागतमा धनकुटा–१ हिले बजारमा बिस्कुट उद्योग सञ्चालन गर्नुभएका टेकबहादुर गोङ्वा तामाङले पनि दैनिक तीन सय झोलासम्म नरिवल बिस्कुट उत्पादन गर्नुहुन्छ । उहाँले पनि धनकुटाको पहिचान तथा कोसेलीका रूपमा जिल्ला बाहिर नरिवल बिस्कुट लैजाने गरेको बताउनुभयो । 

अहिले नरिवल बिस्कुटको खुद्रा मूल्य प्रति झोला ६० देखि ८० सम्म छ । जिल्लामा प्रायः सबै पसल तथा राजमार्गका पसलमा नरिवल बिस्कुट बेच्न राखेको देखिन्छ । विगत ११ वर्षदेखि धनकुटाको बसपार्कमा व्यापार गर्दै आउनुभएका चन्द्रकला प्रधानले बाहिरबाट आउने पाहुनाले कोसेलीका रूपमा नरिवल बिस्कुट नै किनेर लैजाने गरेको बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाका अनुसार बिस्कुट उद्योगले उत्पादन गरेको प्रायः सबै बिस्कुट कोसेलीका रूपमा बिक्री हुने गरेको छ । 

जसका कारण बिस्कुट उद्योग फस्टाइरहेका छन् । कार्यालयको तथ्याङ्कअनुसार अहिले धनकुटा नगरपालिकामा १३ वटा, पाख्रिबास नगरपालिका र छथर गाउँपालिकामा दुई÷दुई वटा र सहिदभूमि गाउँपालिकामा एउटा घरेलु बिस्कुट उद्योग सञ्चालनमा छ । रासस