• २४ वैशाख २०८१, सोमबार

‘लू’बाट बच्न प्रशस्त मात्रामा पानी पिउन आग्रह

blog

काठमाडौँ, वैशाख १२ गते । जल तथा मौसम विज्ञान विभागले तराईको केही भूभागमा अत्यधिक गर्मी हुने हुँदा सचेत रहन आग्रह गरेको छ । विभागले वैशाख १० देखि १४ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

लुम्बिनी, मधेश प्रदेशका तराई भूभागका केही स्थानमा र पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा आगामी पाँच दिन अत्यधिक गर्मीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको हो । तापक्रम एक्कासि बढेपछि तातो हावा अर्थात् ‘लू’ चल्ने सम्भावना बढी हुन्छ । कन्सल्टेन्ट फिजिसियन डा.धुव्र गैरेले ‘लू’का कारण टाउको दुख्ने, वान्ता हुने, बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिने बताउनुहुन्छ ।

डा.गैरेका अनुसार ‘लू’का कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिने गर्दछन् । तातो हवाका कारण बालबालिका वृद्धवृद्धा तथा दीर्घरोगी बढी प्रभावित हुने उहाँको भनाइ छ ।

‘‘यदि स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन उहाँको सुझाव छ,’’ उहाँ भन्नुहुन्छ, ‘‘यदि तातो हावाका कारण मुटुको चाल तीव्र हुने श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना निस्कने, टाउको अत्यधिक दु:खने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिए बिरामीलाई तुरुन्त अस्पतालमा लैजानुपर्छ ।’’

‘लू’बाट बच्न के गर्ने ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा बच्न गर्मीको समयमा दिउँसो सकभर घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

यदि घर बाहिर निस्कनै परेमा छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्न, हाल्का खालको शीतल हुने कपडा लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रशस्त मात्रामा पानी पिउने, बेलाबेलामा चिसो पानीले नुहाउने, खेतबारीमा वा घर बाहिर काम गर्दा बिहान वा बेलुकाको समयमा गर्ने, कागती पानी, नरिवलको पानी तथा फलफूलको रस पिउने, काँक्रोलगायत घरमै बनाएको ताजा खानेकुरा खान मन्त्रालयको आग्रह छ । साथै चिया, कफी, सोड जस्ता पेयपदार्थ नपिउन, धूम्रपान तथा मदिरा सेवन नगर्न मन्त्रालयको सुझाव छ ।