• २१ वैशाख २०८१, शुक्रबार

महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

blog

दोधारा चाँदनी (कञ्चनपुर), वैशाख ११ गते । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ ।

महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखि खोपको अभाव भएको जानकारी दिनुभयो । माग बढे पनि अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

भीमदत्त नगरपालिका–१८ का नरेश जोशीले अस्पतालमा रेबिजविरुद्धको खोप नपाएपछि समस्यामा परेको गुनासो गर्नुभयो । “घरमै पालेको कुकुरले खुट्टामा टोकेपछि रेबिज खोप लगाउन अस्पताल गएको थिएँ तर अभाव छ भनेर फिर्ता पठाइयो । निजी अस्पतालमा पनि सहजै पाउने अवस्था छैन । पाइहालेमा चार गुणाबढी मूल्य तिर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

अर्का सेवाग्राही खुसी चौधरीले पनि निःशुल्क पाउने गरेको महाकाली प्रादेशिक अस्पतालमा खोप अभाव भएपछि निजी अस्पतालमा रु छ सय तिरेर खोप लगाउनुपरेको गुनासो गर्नुभयो । रासस