• २२ वैशाख २०८१, शनिबार

पुल निर्माणको काम अलपत्र

blog

सुनी खोलामा निर्माणाधीन पुल ।

अविनाश चौधरी

धनगढी, वैशाख ११ गते । कैलालीको ६ लेन सडकमा पुल निर्माणको काम अलपत्र परेको छ । गोदावरी नगरपालिका–५ स्थित मनहरा र सुनी खोलामा पुल निर्माणको काम अलपत्र परेको हो । 

निर्माण अवधि सकिएको पुलको समयावधि थप गर्दासमेत निर्माण कम्पनीले पुल नबनाएको पुल हेर्ने जिम्मा पाएको महाकाली पुल आयोजनाको कार्यालयले जानकारी दिएको छ । 

सो कार्यालयका अनुसार मनहरा खोलामा बन्ने पुलको डिजाइन परिवर्तन गर्नुपर्ने कारणले काम अगाडि बढ्न सकेको छैन । मनहरामा साढे नौ करोड रुपियाँमा उच्चकोटी–समीदेव–राजेन्द्र जेभीले पुल निर्माणको ठेक्का पाएका थिए । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरिसक्नू पर्ने पुलको अझै केही काम हुन सकेको छैन । 

गएको कात्तिकमा पुल निर्माणको म्याद सकिएको छ । अब नयाँ डिजाइन आएपछि मात्र पुल निर्माणको काम अगाडि बढ्ने आयोजनाका इन्जिनियर सन्तोष चन्दले जानकारी दिनुभयो । आयोजनाको कार्यालयले पुलको डिजाइन संशोधनका लागि विभागमा फाइल पठाएको छ । 

यसैगरी, सुनी खोलामा निर्माण भइरहेको पुललाई अधुरै छाडेर निर्माण कम्पनीले बाँकी काम पूरा गर्न चासो देखाएको छैन । ६५ प्रतिशत निर्माण कार्य पूरा भएको पुल अलपत्र बनेको छ । २०८० असार मसान्तभित्र सक्नेगरी आठ महिना म्याद थप गर्दासमेत निर्माण कम्पनीले काम नगरेको इन्जिनियर चन्दले बताउनुभयो । 

सुनी खोलामा पुल निर्माणको ठेक्का धनगढीको राजेन्द्र निर्माण सेवाले पाएको छ । २०७७ मा ठेक्का सम्झौता भएको सो पुलको २०७९ कात्तिकमा म्याद सकिएको थियो । पुल निर्माण कार्य पूरा नहुँदै म्याद सकिएपछि आयोजनाको कार्यालयले २०८० असार मसान्तसम्म पुलको म्याद थप गरे पनि निर्माण कम्पनीले काम नगरेको इन्जिनियर चन्दको भनाइ छ । तीन करोड ७७ लाख रुपियाँमा सो पुल निर्माणको ठेक्का सम्झौता भएको थियो ।