• २२ वैशाख २०८१, शनिबार

मतदान केन्द्रमा पठाइयो कर्मचारी

blog

उपनिर्वाचनका लागि मतदान केन्द्रमा जान तयारी भएका कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल
इलाम, वैशाख ११ गते ।
 इलाम–२ को उपनिर्वाचन आउन चार दिन मात्रै बाँकी छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदानमा खटिने कर्मचारीहरूलाई निर्वाचन सामग्रीहरू बुझाएको छ ।

कार्यालयले मङ्गलबार टाढा जाने कर्मचारीहरूलाई प्राथमिकता दिँदै कर्मचारीको सेवा सुविधासहित निर्वाचन सामग्री दिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई निर्वाचन सामग्रीसहित पठाउन थालिएको कार्यालयले जनाएको छ ।

कार्यालयले बुधबार बेलुकासम्ममा इलाम–२ का ७९ मतदान स्थलमा रहेका एक सय ४९ केन्द्रमा सबै कर्मचारी पुगी सक्ने जनाएको छ । मतदान अधिकृत र कर्मचारीले सियोदेखि मतपेटिकासम्मका ४० सामग्री लिएर मतदान केन्द्रमा पुग्ने छन् ।

कर्मचारी र सामग्रीसँगै सुरक्षाकर्मी पनि जाने जिल्ला सुरक्षा समितिले जनाएको छ । सबै मतदान केन्द्रलाई अति संवेदनशीलमा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था अपनाइएको जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि एक हजार ५२३ जना नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र सात सय नेपाली सेना र अनुसन्धानका १५ जना परिचालन हुने छन् । जसमा नेपाली सेना र सशस्त्र प्रहरी भने ‘फिल्ड’मै रहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘सशस्त्र र सेना फिल्डमा छन् । बुथमा खटिने नेपाल प्रहरी कर्मचारीसँगै भोलि बेलुका ४ बजेसम्ममा पुग्ने छन् ।’’