• २२ वैशाख २०८१, शनिबार

ललितपुरमा अन्तरपालिका भलिबल हुँदै : प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा गोले ।

ललितपुर, वैशाख ११ गते। प्रज्ञा स्मृति प्रतिष्ठानले ललितपुरको महांकाल गाउँपालिकामा बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता गर्ने भएको छ।

प्रतिष्ठानले ललितपुरको महांकाल गाउँपालिकास्थित गोटीखेलमा ‘प्रकाश दाहाल स्मृति बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता’ गर्न लागेको हो। वैशाख २२ गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ। 

प्रतियोगितामा विजेता टिमलाई तीन लाख, उपविजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ। 

प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र खेलाडीलाई जनही ५० हजार रुपियाँका दरले पुरस्कार दिइने प्रतियोगिताकी संयोजक डोल्मा गोलेले जानकारी दिनुभयो। 

प्रतियोगितामा करोड बढी खर्च हुने आयोजकको अनुमान छ। मानिसलाई स्वस्थ र अनुशासित बनाउन खेलका कार्यक्रम राखिएको प्रतिष्ठानका सदस्य सन्तु दराईले जानकारी दिनुभयो।  प्रतियोगिताको संयोजन महांकाल गाउँपालिका उपाध्यक्षले डोल्मा गोलेले गर्नुहुनेछ।

ललितपुर जिल्ला खेलकुद विकास समितिले समन्वय गरिरहेको यो प्रतियोगितामा बागमती प्रदेशभित्रका ११९ मध्ये ५० वटा पालिकाले सहभागिता जनाउने अपेक्षा रहेको संयोजक गोलेको भनाइ छ।

प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख दलका शीर्ष नेतालाई निम्तो पठाइएको छ। सहभागीले वैशाख १५ गतेसम्ममा टिम दर्ता गर्न पाउनेछन्। 

आयोजकका अनुसार विभागीय टिमबाट खेल्ने र अन्तर्राष्ट्रिय खेलाडीलाई भने पालिकाले टिममा सहभागी गराउन पाउने छैनन्। यसबाहेक सम्बन्धित पालिकाले देशभरका जुनसुकै स्थानका खेलाडीलाई पनि टिममा सहभागी गराउन पाउने आयोजकको भनाइ छ। 

प्रतिष्ठानले स्व. प्रकाश दाहालको स्मृतिमा ‘प्रथम बागमती प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८१’ गर्न लागेको हो। प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति ललितपुरले स्थानीय स्तरमा संयोजन गर्ने भएको छ। 

‘‘राजधानीको नजिक भएर पनि महांकाल गाउँपालिका र आसपासका क्षेत्र अझै विकासका गतिले पछि परेका छन्।  प्रतियोगिताका कारण यस क्षेत्रको प्रचार प्रसार भई पर्यटनको विकास हुने अपेक्षा छ,’’ पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक महांकालकी उपाध्यक्ष गोलेले भन्नुभयो। 

बागमती प्रदेशका सबै पालिकालाई भलिबल प्रतियोगितामा  निमन्त्रणा गरेको र खेल ‘लिग कम नक आउटका आधारमा खेलाइने तयारी आयोजकको छ।

टिमको तय भएपछि मात्र प्राविधिक विषय टुङ्गो लाग्ने आयोजकको भनाइ छ।