• २१ वैशाख २०८१, शुक्रबार

व्यक्तिगत लगानीमा कोतघर पुनः निर्माण

blog

पुतलीबजार नगरपालिका-९ कोल्मामा पुनः निर्माण गरिएको कोतघर ।

अर्जुन काफ्ले 

स्याङ्जा, वैशाख ११ गते । पुतलीबजार नगरपालिका-९ कोल्मामा रहेको कोल्मा कोतघरको पुनः निर्माण गरिएको छ । कोतघरको तनहुँ शुक्लागण्डकी ११ निवासी देव बहादुर गुरुङ र बबिता गुरुङले ३१ लाख ६५ हजार रुपियाँमा पुनर्निर्माण गर्नुभएको हो । 

सेउले कोटघरलाई २०१७ सालमा ढुङ्गा छाएर स्थानीयले बनाएको र २०३७ सालमा देवबहादुरकै बाबु केशबहादुरले अर्जुन चौपारी ६ दरौबाट ढुङ्गा लगेर बनाउनुभएको थियो। चन्दादाता समाजसेवी गुरुङले शुक्लागण्डकी बस्ने भए पनि स्वर्गीय बुवा केशबहादुरको पुर्खौली थलोमा केही गर्नु पर्छ र बुवाको सपना साकार पार्न कोतघरको पुनः निर्माण गरिएको बताउनुभयो । 

साबिकको कोल्मा बराहचौर गाविस ७ मा रहेको सातसय कोल्मा कोटकालिका मन्दिर यस क्षेत्रकै प्रसिद्ध र ऐतिहासिक धार्मिक सम्पदा हो । वडा अध्यक्ष लीलबहादुर गुरुङले यस कोल्मा कोटघरमा वडा दसैँ र चैते दसैँमा भक्तिजनहरुको भिड लाग्ने गरेको बताउनुभयो । 

पुनः निर्माण भएको कोटघरमा भगवती माताको मूर्ति समेत स्थापना गरिएको छ भने धार्मिक पर्यटनका रूपमा पनि विकास भएको कोल्मा कोटघरमा विभिन्न भाकल पुरा हुने जनविश्वास रहेको छ । स्थानीय समाजसेवी डिलकुमार भुजेलले विभिन्न मुलुक, सेनामा भर्ती र स्वदेशमै जागिरका लागि भाकल गर्ने चलन रहेको बताउनुभयो । 

एक रोपनी क्षेत्रफलमा फैलिएको कोल्माकोट ३ आनामा कोटघर रहेको भुजेलले बताउनुभयो । धार्मिक क्षेत्रमात्रै नभएर पर्यटनको क्षेत्र समेत रहेको यस कोल्माकोटबाट माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खलाहरू सहजै देख्न पाइन्छ । 

राज्यले नै चासो दिई यस्ता धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्न सके पर्यटक मार्फत स्थानीय स्तरमै रोजगारी सृजना गर्न सकिन्छ । निजी लगानीमा कोतघरको पुनः निर्माण गर्ने गुरुङ परिवारलाई कोट व्यवस्थापन समितिले अबिर र खादा लगाएर सम्मान समेत गरेको हो ।