• २२ वैशाख २०८१, शनिबार

पासोमा परेको चितुवाको उद्धार गरिँदै

blog

सांकेतिक तस्बिर

गोकर्ण दयाल  

बैतडी, वैशाख ११ गते । बैतडीमा मानव–वन्यजन्तुबिचको द्वन्द्व बढ्दै गएको छ । मङ्गलबार बिहान सिगास गाउँपालिका–९ च्वाँभेरीखोलामा मानिसले थापेको पासोमा चितुवाको गोडा फसेको छ ।   

चितुवाको उद्धार गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाको उद्धार टोली मगाइएको  डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीपकुमार यादवले बताउनुभयो  । 

चितुवाको उद्धार गर्न डिभिजन वनको टोली, पशु चिकित्सक र प्रहरी घटनास्थल पुगिसकेको छ । शुक्लाफाँटाबाट राष्ट्रिय प्रकृति संरक्षण कोषको उद्धार टोली आएपछि पासोमा फसेको चितुवाको उद्धार र उपचार गरिने डिभिजन वन प्रमुख यादवले बताउनुभयो । 

उहाँले भन्नुभयो,“ बैतडीमा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण हुन सकेको छैन । चितुवाले बैतडीको तल्लोस्वराड क्षेत्रमा २०६८ यता २८ जना मानिसको शिकार गरिसकेको छ भने जिल्लाका विभिन्न स्थानमा मानिसले थापेको पासोमा परि हालसम्म १२ वटा चितुवा मरिसकेका छन् ।” 

बैतडीमा मानव र वन्यजन्तुबिचको द्वन्द्व अध्ययन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली ५० वटा स्वचालित क्यामेरा लिएर बैतडी आउने बताइएको छ ।