• २२ वैशाख २०८१, शनिबार

नसर्ने रोगसम्बन्धी परियोजना शुभारम्भ

blog

काठमाडौँ, वैशाख १० गते । कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकामा नसर्ने रोगसम्बन्धी परियोजना सुरु गरिएको छ । परियोजना सन् २०२४ अप्रिलदेखि २०२६ मार्चसम्म सञ्चालन हुनेछ । विपद्को समयमा नसर्ने रोग लागेका व्यक्तिसम्म पहुँच बढाउने र समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीले सो परियोजना सुरु गरेको हो ।

सोसाइटीद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विपद्का बेलामा आकस्मिक सेवालाई मात्रै प्राथमिकता दिइने र नसर्ने रोगहरूलाई महत्त्व नदिइने गरेको सन्दर्भमा जाजरकोट भूकम्पमा भने यी दुवै विषयलाई सँगसँगै लगिएको बताउनुभयो । मन्त्रालयअन्तर्गतको स्वास्थ्य समन्वय महाशाखाका डा.समीर अधिकारीले मानसिक स्वास्थ्य र नसर्ने रोगहरू नेपालका लागि समस्याका रूपमा रहेको छ भन्नुभयो । 

डेनिस रेडक्रसका ‘कन्ट्री क्लस्टर’ प्रतिनिधि डेभिड फोगडेन र डेनिस रेडक्रस कन्सुलेट कार्यालयका हरि धरेलले परियोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा.मेघनाथ धिमाल र विश्वस्वास्थ्य सङ्गठनका प्रतिनिधि डा.ग्याम्पो दोर्जीले नेपालमा नसर्ने रोगहरूको अवस्था र जोखिमका तत्त्वहरूका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य सेवा विभागका डा.रइस पोखरेलले नसर्ने रोग तथा मानसिक स्वास्थ्य कार्यक्रमका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठ, कञ्चनपुर जनस्वास्थ्य कार्यालयका सिद्धराज भट्ट, काठमाडौँ विश्वविद्यालयका वन्दना पनेरु, नेपाल डेभलपमेन्ट सोसाइटीका कार्यकारी निर्देशक श्वेता कोइरालालगायतले नसर्ने रोगहरूको अवस्था र चुनौतीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रसका अध्यक्ष प्रा.सुदर्शन नेपाल र महामन्त्री भूपतिलाल श्रेष्ठले नसर्ने रोगहरूसम्बन्धी नवीनतम परियोजनाको शुभारम्भ आफैँमा महत्त्वपूर्ण भएको बताउनुभयो । रासस