• २२ वैशाख २०८१, शनिबार

साहना प्रधान स्मृति राष्ट्रिय हक्की धुलिखेलमा

blog

साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, वैशाख १० गते । छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबारदेखि धुलिखेलमा हुने भएको छ ।

नेपाल हक्की सङ्घको आयोजनामा वैशाख १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय टोलीको नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिनुभयो ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगितामा शीर्ष तीनस्थान हात पार्ने टोलीले क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपियाँ पुरस्कार र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई पाँच हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार रुपियाँबाट पुरस्कृत गरिने सङ्घले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपियाँ खर्च हुने हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप), धुलिखेल नगरपालिका र विभिन्न सङ्घ संस्थाको सहयोग रहेको बताइएको छ । पाँचदिने प्रतियोगिताका खेलहरू काभ्रको धुलिखेल खेलकुद मैदानमा हुनेछ ।

सोही अवसरमा सङ्घले प्रशिक्षक तथा निर्णायकलाई समयानुकूल परिष्कृत गर्दै लाने उद्देश्यले एसियन हक्की महासङ्घको सहयोगमा एएचएफ टेक्निकल अफिसियल कोर्स पनि सञ्चालन गर्ने महासचिव श्रेष्ठले जानकारी दिनुभयो । 

हक्की रङ्गशालाका लागि जग्गा प्राप्त 

नेपालका हक्कीको अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला र प्रशिक्षण केन्द्र निर्माणका लागि धुलिखेलमा जग्गा प्राप्त भएको जानकारी पनि सङ्घले दिएको छ । महासचिव श्रेष्ठका अनुसार रङ्गशाला र प्रशिक्षण केन्द्र बनाउन काभ्रेको धुलिखेल नगरपालिकाले हक्की सङ्घलाई धुलिखेल नगरपालिकाको वडा नं. १२ मा रहेको ४० रोपनी खेल मैदान उपलब्ध गराएको छ । 

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको र अन्तिम चरणमा पुगेको समेत सङ्घले जनाएको छ । 

करिब तीन वर्षमा निर्माण कार्य सम्पन्न हुने उक्त रङ्गशाला नेपाल सरकार, अन्तर्राष्ट्रिय महासङ्घ, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको आर्थिक सहयोगमा निर्माण गरिने पनि सङ्घले जानकारी दिएको छ ।