• २५ वैशाख २०८१, मङ्गलबार

किशोरीलाई आत्मरक्षा तालिम

blog

तालिममा सहभागीलाई प्रयोगात्मक प्रशिक्षण दिइँदै । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, वैशाख १० गते ।
म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी क्षमता विकास तालिम प्रदान गरिएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित हिंसा तथा दुर्व्यवहारविरुद्ध प्रतिकार गर्न सकुन भनेर तालिम सञ्चालन गरिएको थियो ।

मङ्गला गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो । शनिबारसम्म तीन दिन चलेको तालिममा मङ्गला गाउँपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न नौ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट शिक्षिकासहित ३६ जना किशोरीले सहभागिता जनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले जानकारी दिनुभयो ।

तीन दिनसम्म चलेको तालिममा आत्मरक्षाको सिप विकास, सकारात्मक सोच तथा योग आसन, समाज रुपान्तरणमा किशोरकिशोरीहरुको भूमिका, जीवनरक्षासम्बन्धी प्रयोगात्मक अभ्यास, कल्चरल तथा कला प्रदर्शनी, यौनजन्य वृद्धि विकासको व्यवस्थापन, आत्मरक्षा सिपको व्यावहारिक अभ्यास, सफल नेतृत्व विकाससम्बन्धी कला, साइबर सुरक्षा एवम् घरेलु हिंसा न्यूनीकरण, बाल अधिकारका आयामहरु, बाल बचाउ, संरक्षण र सहभागिता, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक विकासको सम्बन्धलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले तालिमको सद्धान्तिक र प्रयोगात्मक अभ्यासको क्रममा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिनुभएको छ । तालिमको समापन गर्दै मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पालिकामार्फत सिप विकास तथा सचेतनामूलक तालिम कार्यक्रमलाई जोड दिइने बताउनुभयो ।

पछिल्लो समय देशमा महिला तथा बालबालिकाहरुमाथि बढ्दै गइरहेको विभिन्न प्रकृतिका हिंसाहरुको न्यूनीकरणमा सहयोग पुर्‍य ाउन र तालिमबाट विद्यालय उमेर समूहका किशोरीहरुलाई सक्षम बनाउन तालिम सञ्चालन गरिएको मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले जानकारी दिनुभयो । उहाँले गतवर्ष जिल्लाको विभिन्न स्थानमा आत्मरक्षासम्बन्धी तालिम सञ्चालन गरिएको हुँदा यसवर्ष पनि सामाजिक विकास कार्यालय र पालिकाहरुसँगको समन्वयमा तालिमलाई अभियानको रुपमा चलाइएको बताउनुभयो ।