• २३ वैशाख २०८१, आइतबार

विद्यार्थी थेग्न नसकेपछि प्रवेश परीक्षा लिँदै बेनी सामुदायिक

blog

भर्नाका लागि प्रवेश परीक्षामा सहभागि विद्यार्थीहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख १० गते ।
म्याग्दीको बेनी सामुदायिक विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा पास गर्नुपर्दछ । विद्यालयको क्षमताभन्दा धेरै विद्यार्थीले भर्ना हुन आवेदन दिएपछि प्रवेश परीक्षा मार्फत विद्यार्थी छनोट गर्न लागिएको हो ।

विद्यालयको सिमित भौतिक पूर्वाधार र जनशक्तिका कारण भर्नाका लागि आएका सबै विद्यार्थीलाई भर्ना लिन नसक्ने भएपछि बेनी नगरपालिका ७ स्थित बेनी सामुदायिक विद्यालयले प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्न थालेको हो ।

विद्यालयको भौतिक संरचना, कक्षा कोठा र शिक्षकको अभावका कारण विद्यालयमा भर्ना हुन आएका सबै विद्यार्थीहरुलाई स्वतः सहज तरिकाले भर्ना गर्न नसकिएको सहायक प्रधानाध्यापक काशीराम रेग्मीले बताउनुभयो ।

सरकारी निकायबाट विद्यालयको भौतिक पूर्वाधार र शिक्षकको व्यवस्थापन गरिदिए आएका सबै विद्यार्थीहरुलाई भर्ना गर्न सकिने उहाँले बताउनुभयो ।

चालु शैक्षिक सत्रका लागि विभिन्न कक्षाहरुमा गरेर एकसय २० जना मात्र नयाँ विद्यार्थी भर्ना लिन सक्ने क्षमता भएको विद्यालयमा दुई सय ४० भन्दा बढी विद्यार्थीहरुले भर्नाका लागि आवेदन दिएपछि आइतबार विद्यालयले प्रवेश परीक्षा लिएको थियो । दुईदिन भित्र प्रवेश परीक्षाको नतिजा निकालेर उत्कृष्ट विद्यार्थी भर्ना गरिने विद्यालयले जनाएको छ ।

भौतिक पूर्वाधार र जनशक्ति अभावका कारण आएका सबै विद्यार्थीहरुलाई भर्ना गर्न सक्ने अवस्था छैन विद्यालयका सहायक प्रधानाध्यापक रेग्मीले भन्नुभयो ‘‘विभिन्न निजी विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु भर्नाका लागि यहाँ आएका छन् । आएका सबै विद्यार्थीलाई भर्ना गर्न सक्ने विद्यालयको क्षमता छैन । भौतिक पूर्वाधार र जनशक्तिको अभावका कारण सिमित सङ्ख्यामा मात्र विद्यार्थी भर्ना गर्नुपर्ने भएकाले प्रवेश परीक्षा लिनुपर्ने विद्यालयको बाध्यता छ ।’’

प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई मात्र भर्ना गरिने उहाँले बताउनभुयो । उहाँका अनुसार कक्षा १, ६ र ८ मा धेरै विद्यार्थीहरु भर्ना हुन आएका छन् । विद्यालयको शैक्षिक गुणस्तर र राम्रो व्यवस्थापनका कारण पछिल्लो समय  निजी विद्यालय छाडेर बेनी सामुदायिकमा भर्ना हुने संख्या बढेको छ ।

निजी विद्यालयमा भन्दा बेनी सामुदायिकमा राम्रो शैक्षिक वातावरण भएकाले कक्षा ८ मा आफ्नो छोरालाई भर्ना गर्न आएको पर्वतको जलजला गाउँपालिका ७ की सपना विकले बताउनुभयो ।

विद्यालयले जनजाति, जेहेनदार, दलित, पिछडिएका, गरिब र न्यून आय भएका विद्यार्थीलाई छुट्टै कोटा निर्धारण गरेको छ । विद्यालयमा म्याग्दीका साथै छिमेकी जिल्ला पर्वत र बागलुङका समेत विद्यार्थीहरु भर्नाका लागि आएका छन् ।

विद्यालयमा विद्यार्थीको चाप, शिक्षक दरबन्दी र भौतिक संरचनाको अभावका कारण २०६८ सालदेखि भर्नाका लागि अनिवार्य प्रवेश परीक्षा लागू गरिएको विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताउनुभयो ।

२०७० सालमा सामुदायिकतर्फ नेपालकै उत्कृष्ट विद्यालयका रूपमा परिचय बनाएको विद्यालयमा अभिभावकले निजी विद्यालयबाट विद्यार्थी झिकेर बेनी सामुदायिकमा भर्ना गर्नेको सङ्ख्या बर्सेनि बढ्दो छ । बालकक्षा देखि कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा करिब एकहजार दुईसय विद्यार्थीहरु अध्ययनरत छन् ।