• १२ साउन २०८१, शनिबार

बाँकेका ६३ सामुदायिक वनमा डढेलो

blog

बाँकेका सामुदायिक वनमा लागेको डढेलो। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, वैशाख ९ गते। बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो लाग्न सुरु भएको छ। डढेलोका कारण वनमा ठुलो धनजनको क्षति नभए पनि जीवजन्तु सङ्कटमा परेको शमशेरगञ्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो।

खासगरी जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडूवा गाउँपालिका, बैजानाथ गाउँपालिका र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको छ। 

वन अधिकृत सुवेदीले अहिलेसम्म जिल्लाको ६३ सामुदायिक वनको एक सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको जानकारी दिनुभयो।

उहाँले डढेलो नियन्त्रणमा लिने कार्य भइरहेको  बताउनुभयो।

उहाँले चक्ला वन क्षेत्रको पाँच सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको उल्लेख गर्दै गतवर्ष भन्दा यसवर्ष धेरै सुक्खा भएकाले डढेलो फैलिएको बताउनुभयो। डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको पाइपसहितको गाडीमार्फत पनि अग्नि नियन्त्रणमा लिइएको जानकारी दिँदै वन अधिकृत सुवेदीले अग्नि हेरालु आठजना परिचालन भएको उल्लेख गर्नुभयो।

आगलागी नियन्त्रणमा लिन दमकलको प्रयोग हुनुका साथै सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोग लिनुपरेको बताइएको छ।

शमशेरगञ्ज सबडिभिजन कार्यालय, बाँकेका अनुसार राप्तीसोनारी २ को कोटहीमाई सामुदायिक वन उपभोक्ता समिति, समयभवानी सामुदायिक वन उपभोक्ता समिति र कोहलपुरको रानी सामुदायिक वन उपभोक्ता समितिमा सबैभन्दा बढी डढेलो लागेको थियो। 

“निकुञ्जको उत्तरतर्फबाट लागेको आगो अहिले दक्षिणतर्फ सल्केको छ”, सुवेदीले भन्नुभयो। उहाँका अनुसार डढेलोका कारण वनमा रहेका हरिण, बँदेललगायतका जनावर विस्थापित भएका छन्।