• २१ वैशाख २०८१, शुक्रबार

रफाहमा इजरायली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु

blog

रफाह (गाजा क्षेत्र), वैशाख ९ गते । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजरायली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् । 

गाजाका २३ लाख जनसङ्ख्याको आधाभन्दा धेरैले शरण मागेको रफाहमा इजरायलले करिब दैनिक आक्रमण गरेको छ । अमेरिकासहित अन्तर्राष्ट्रिय स्तरले संयतता अपनाउन आग्रह गरे पनि इजरायलले इजिप्टको सिमानामा रहेको रफाहमा आफ्नो स्थल आक्रमण विस्तार गर्ने वाचा गरेको छ ।

कुवैती अस्पतालका अनुसार पहिलो आक्रमणमा एक पुरुष, उनकी पत्नी र उनीहरूको तीन वर्षीय बालकको मृत्यु भएको छ । अस्पतालले महिला गर्भवती रहेको र चिकित्सकहरू बच्चालाई बचाउन सफल रहेको बताएको छ ।

अस्पतालको रेकर्डअनुसार दोस्रो आक्रमणमा एउटै परिवारका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको छ । अघिल्लो रात रफाहमा भएको हवाई आक्रमणमा छ बालबालिकासहित नौ जना मारिएका थिए ।

स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायल–हमास युद्धमा ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने गाजाका दुई सबैभन्दा ठुला सहर ध्वस्त भएका छन् र सम्पूर्ण क्षेत्रमा विनाश भएको छ । करिब ८० प्रतिशत जनसङ्ख्या आफ्नो घरबाट भागेर घेरिएको तटीय क्षेत्रका अन्य भागमा गएका छन् । विशेषज्ञहरूले ती क्षेत्र भोकमरीको सङ्घारमा रहेको बताएका छन् ।

सातौँ महिनामा चलिरहेको युद्धले क्षेत्रीय अशान्ति फैलाएको छ । यसबाट इजरायल र अमेरिका सम्पूर्ण मध्यपूर्वमा इरान र सम्बद्ध लडाकु समूहहरूविरुद्ध खडा भएका छन् । यसै महिनाको प्रारम्भमा इजरायल र इरानबिच प्रत्यक्ष गोलाबारी हुँदा लामो समयदेखिको उनीहरूको शत्रुताले युद्धको डर बढाएको छ ।

इजरायलले कब्जा गरेको वेस्ट बैङ्कमा पनि तनाव बढेको छ । इजरायली सेनाका अनुसार सैनिकहरूले आइतबार बिहानै दक्षिणी वेस्ट बैङ्क सहर हेब्रोन नजिकै एक जाँच चौकीमा चक्कु र बन्दुकले आक्रमण गर्ने दुई प्यालेस्टिनीलाई ‘निष्क्रिय’ बनाएको बताएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा युद्ध सुरु भएपछि वेस्ट बैङ्कमा इजरायली सैनिक र बसोबास गर्नेहरूबाट कम्तीमा चार सय ६९ प्यालेस्टिनी मारिएका छन् । अधिकांश मानिस इजरायली सैन्य गिरफ्तारी छापा मार्ने क्रममा मारिएका छन् । रासस/एपी