• १२ मंसिर २०८१, बुधबार

रैथाने बाली संरक्षणमा पालिका

blog

बाजुरा समाचारदाता

बाजुरा, वैशाख ९ गते । बाजुराका अधिकांश स्थानीय तह अहिले रैथाने बाली संरक्षण अभियानमा जुटेका छन् । रैथाने बाली हराउँदै गएपछि स्थानीय तह रैथाने बालीको संरक्षण अभियानमा जुटेका हुन् ।

रैथाने बालीमा मानव स्वास्थ्यका लागि पोषकतत्व हुने भएकाले पछिल्लो समय यसको संरक्षण अभियानमा जुटेको यहाँका स्थानीय बताउँछन् । गाउँमा उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो र फापर, उवा, झुमरो, लोकल मकै, जौ राम्रो पोषिलो अन्न मानिन्छ । 

स्थानीयको रोजाइमा भात र गहुँको रोटी मात्र भएकाले यो बाली बिस्तारै लोप हुँदै गएको खप्तडछेडेदह गाउँपालिका स्थानीय दले नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ बस्ती सबै सडक सञ्जालको पहुँचमा भएसँगै रैथाने बाली हराउन थालेको हो ।” देशका विभिन्न सहर यस्ता अन्नको माग बढ्न थालेपछि उत्पादनमा पनि चाँसो बढ्दै गएको छ । रैथाने बालीले बजारमा राम्रो मूल्य पाउने भएकाले माग अनुसार उत्पादन गर्न सकिने नेपालीले बताउनुभयो ।

अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा समेत रैथाने बाली पर्न थालेको छ । बाजुराका विभिन्न होटल तथा खाजा घरमा रैथाने बालीका विभिन्न परिकार पाक्न थालेका छन् ।

स्थानीय तहले पनि रैथाने बाली संरक्षण गर्ने गरी विद्यालयलाई समेत दिवा खाजामा बनाउन लगाउने गरेको छ । विभिन्न रोग र किरा, सुक्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका रैथाले बाली यहाँका हरेक ठाउँमा उत्पादन गर्न सहज छ । यी बाली ठाउँ विशेषको स्थानीय हावापानीमा राम्रो उत्पादन हुने भएकाले पछिल्लो समय स्थानीय तहले स्थानीयलाई रैथाने बाली उत्पादनमा उत्पे्ररित गर्दै आएका हुन् । खप्तडछेडेदह, बुढीगङ्गा, त्रिवेणी, हिमाली, गौमुल, बडीमालिका, जगनाथ, स्वामिकार्तिक र बुढीनन्दालगायत क्षेत्रमा रैथाने बाली उत्पादन हुन्छ ।

जिल्लाका नौ वटै स्थानीयले पछिल्लो समय रैथाने बाली उत्पादन गर्न किसानका लागि विभिन्न अनुदानका कार्यक्रमसमेत सञ्चालन गर्दै आएका छन् । रैथाने बाली खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनका लागि आवश्यक भएकाले उक्त बाली संरक्षणका लागि अभियान सुरु गरेको हिमाली गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोदो, फापर, सिमी, जौ गहुँ, मकै, चिनो, कागुनो, भटमास, रातो धानको चामललगायत बाली रैथाने बालीमा पर्छ । कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरन जस्ता खनिजको प्रचुरता बढी भएकाले बालीलाई संरक्षण गर्न अभियान सुरु गरेको रोकायाले बताउनुभयो ।