• २२ वैशाख २०८१, शनिबार

आगलागीले गहुँबालीमा ठुलो क्षति

blog

गहुँबालीमा लागेको आगो ।

प्रकाशविक्रम शाह

धनगढी, वैशाख ८ गते । कैलालीको विभिन्न ठाउँमा शनिबार आगलागी हुँदा ठुलो मात्रामा गहुँबालीमा क्षति पुगेको छ । जोशीपुर वडा ६ पकरियामा भएको आगलागीबाट १५ परिवारको सात विघाभन्दा बढी जमिनमा लगाएको गहुँबालीमा क्षति पुगेको छ । 

गहुँबालीमा आगलागी हुँदा ६ लाख ४० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । इलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख वरिष्ठ नायव निरीक्षक गणेश थापाका अनुसार दिउँसो १२ ः ४५ बजे लागेको आगो नियन्त्रण गर्न घोडाघोडी, लम्कीचुहा र टीकापुर नगरिपालिका तीनवटा दमकल, प्रहरी तथा स्थानीय परिचालन गरेर गहुँबालीमा थप क्षति हुनबाट जोगाइएको छ । 

जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले प्रहरीले बताएभन्दा बढी क्षति भएको हुनसक्ने बताउनुभयो । क्षतिको लगत आएपछि धेरै कुरा थाहा हुने उहाँको भनाइ छ । 

पकरियामा ६० विघा गहुँको नल र सात विघाभन्दा बढी खेतमा लगाइएको गहुँमा क्षति पुगेको इलाका प्रहरी कार्यालयको भनाइ छ । यस्तै, बर्दगोरिया गाउँपालिका ६ विपना गदसिलाले फोहोर जलाउन खोज्दा तीन परिवारको गहुँबालीमा क्षति पुगेको छ । 

त्यसैगरी गौरीगंगा नगरपालिकाको वडानम्बर ५ को एउटा कच्ची घरमा आगलागी हुँदा ६० हजार बराबर रुपियाँको क्षति भएको बताइएको छ ।