• २१ वैशाख २०८१, शुक्रबार

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन प्रेस जगतको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख

blog

कर्णाली प्रदेश प्रमुख तिलक परियार ।

कर्णाली, वैशाख ८ गते । कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुर्खेतको १२ औँ अधिवेशन तथा साधारणसभाको उदघाटन गर्दै उहाँले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन प्रेस जगतको ठूलो भूमिका रहेको बताउनुभयो ।

प्रदेश प्रमुख परियारले समाजमा सुशासन कायम गर्दै लोकतन्त्रको रक्षा गर्न पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान हुने बताउनुभयो । “नेपाल पत्रकार महासङ्घ श्रमजीवी पत्रकारहरुको छाता संस्था हो”, उहाँले भन्नुभयो, “यसले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न अझ भूमिका खेल्दै आएको छ । पत्रकार र सञ्चारमाध्यम नै राष्ट्रका सच्चा सहरेदार हुन् ।” प्रदेश प्रमुख परियारले नीति, नेतृत्व र समग्र राज्यव्यवस्थालाई सही मार्गमा डोर्याउने, समाजमा भएका सकारात्मक विषय उठान गरी आफ्नो जिम्मेवारी निर्वाह गर्न पत्रकारलाई अनुरोध गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले लोकतन्त्र र सङ्घीयतामाथि भइरहेका टिप्पणीको विश्लेषण गर्दै कलमका माध्यमबाट यसको रक्षा एवम् प्रवर्द्धनमा सहयोग पुर्याउन सुझाव दिनुभयो । लोकतन्त्रको विकल्प खोज्ने नभई यसको अभ्यास र कार्यान्वयनका क्षेत्रमा देखिएका कमी कमजोरी सच्याएर अगाडि बढ्ने गरी पत्रकारले पृष्ठपोषण दिनुपर्ने उहाँको भनाइ छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्माले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जाल ठूलो चुनौती बन्दै गएको बताउँदै यसलाई आकर्षण थलो बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले पत्रकारिता क्षेत्रले खेलेको सकारात्मक भूमिकाले नै मुलुकको समृद्धि र विकासमा सहयोग पुगेको बताउनुभयो । साधारणसभामा आर्थिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरिएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, जिल्लास्थित प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का, पेसागत सङ्गठनका केन्द्रीय, प्रदेश तथा जिल्लाका पदाधिकारी, महासङ्घका पूर्वअध्यक्षहरुलगायत करिब एक सयभन्दा बढी पत्रकारको सहभागिता थियो । रासस