• २० वैशाख २०८१, बिहिबार

चैत्र पूर्णिमामा काल्खु मेला हुने

blog

अर्जुन काफ्ले

स्याङ्जा, वैशाख ७ गते । पुतलीबजार नगरपालिका-९ काल्खुमा चैत्र पूर्णिमाको अवसरमा काल्खु मेला हुने भएको छ । विगत लामो समयदेखि चैत्र पूर्णिमाको अवसर पारी चैत्र पूर्णिमादेखि पञ्चमीसम्म सञ्चालन हुँदै आइरहेको ऐतिहासिक काल्खु मेला यस वर्ष पनि हुने भएको हो ।

जनसम्पर्क युवा क्लब काल्खुले ¨आजको आवश्यकता समाज विकासमा युवा अपरिहार्यता” भन्ने मूल नारालाई आत्मसात् गर्दै वैशाख ११ देखि १७ सम्म मेला सञ्चालन गर्न लागेको हो । मेला संयोजक प्रेम बहादुर रानाले मेलामा जलकन्या उत्तरादेवी मन्दिरको दर्शन, गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, छेलो हान्ने, रसि तान्ने, म्युजिक चियर दौड, घैँटो फुटाउने प्रतियोगिता, विभिन्न सांस्कृतिक कार्यक्रमहरू साथै राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने बताउनुभयो । 

त्यस्तै, पुरुष भलिबल प्रतियोगिता अन्तर्गत विजयी टिमले ६५ हजार, उपविजेताले ४० हजार र तृतीयले २२ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । खुल्ला नृत्य प्रतियोगितातर्फ विजेता हुनेले १५ हजार, उपविजेताले १० हजार, तृतीयले ५ हजार र सान्त्वना हुनेले २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने सांस्कृतिक संयोजक स्वीकृति रानाले बताउनुभयो ।