• २० वैशाख २०८१, बिहिबार

महिनावारी स्वच्छता कार्यक्रम

सरकारी लगानी बढ्दै, किशोरीहरू समस्या झेल्दै

blog

रजनी योगी

सुर्खेत, वैशाख ७ गते । कालीकोटको शुभकालिका गाउँपालिका–६ मा रहेको चन्द्रसूर्य माध्यमिक विद्यालयमा अध्ययनरत यामुना आचार्यको महिनावारी समयमा कहिलेकाहीँ पेट दुख्छ । यामुना मात्र होइन उहाँका अन्य केही साथीहरूको पनि महिनावारी भएको समयमा पेट दुख्ने, ढाड दुख्ने, टाउको दुख्नेजस्ता समस्या आइरहन्छन् । 

विद्यालयमा आराम कक्षा छैन । आराम कक्षा भएको भए विद्यालयमै आराम गरेर पुनः कक्षामा सहभागी हुन पाउँथे । उहाँहरूका समस्या विद्यालय प्रशासनसम्म पुगेको भए पनि साना–साना समस्या समाधान नभएको आचार्यको भनाइ छ । 

विद्यालयमा महिनावारी भएको समयमा सेनेटरी प्याड निःशुल्क दिइन्छ, महिनावारी स्वच्छताका लागि शौचालय, पानी र प्याड डिस्पोज गर्ने ठाउँको राम्रै व्यवस्था छ । ‘सबै कुराको व्यवस्था भए पनि हात धुने ठाउँमा नियमित साबुन हुँदैन, साबुन भए पनि साथीहरूले प्रयोग गर्दैनन्’ किशोरी यामुनाले भन्नुभयो, ‘धेरैले प्रयोग गरेको हुनसक्ने भन्दै साथीहरूले साबुन भए पनि प्रयोग गर्दैनन् । कसैले महिनावारी समयमा घरबाटै व्यक्तिगत साबुन बोकेर आउँछन् ।’

सबै कुराको व्यवस्था भए पनि हात धुने ठाउँमा नियमित साबुन हुँदैन, साबुन भए पनि साथीहरूले प्रयोग गर्दैनन् ।

शुभकालिका–७ मा रहेको पञ्चकालिका माध्यमिक विद्यालयमा अध्ययनरत प्रमिता भट्टराई महिनावारी समयमा कतै रगत बाहिर देखिन्छ कि भन्ने तनावमा बित्नेगरेको बताउनुहुन्छ । ‘विद्यालयले महिनामा एक दिन प्याड दिन्छ, विद्यालयमै महिनावारी भए प्याड माग्नु भनेको छ । प्याड दिने शिक्षिका तोकिएको छ । तर साथीहरू अझै माग्न लाज मान्छन्’ प्रमिताले भन्नुभयो, ‘धेरै साथीलाई प्याड प्रयोग गर्ने तरिका थाहा छैन । घरमा रहेका लुगाफाटा प्रयोग गर्ने गरेका साथीलाई प्याड प्रयोग गर्ने तरिकासमेत सिकाउन आवश्यक छ ।’ 

उहाँको विद्यालयमा महिनावारी भएर किशोरीले प्याड मागेपछि मात्र दिने व्यवस्था छ । धेरै किशोरीले शिक्षकसँग प्याड माग्न सक्दैनन् । किशोरीले कक्षाकै एक जना किशोरीलाई प्याड वितरणको जिम्मा दिनुपर्ने माग गरेका छन् । ‘प्याड वितरणको जिम्मा कक्षाकै एक जना किशोरीलाई दिएको भए सजिलो हुन्थ्यो, महिनावारी भए प्याड दिनुस् भनेर विद्यालयमा अझै भन्न सक्दैनन् । धेरैले प्याड प्रयोग गर्न पनि जानेका छैनन्’ प्रमिता भन्नुहुन्छ, ‘महिनामा एक दिन किशोरीलाई पहिल्यै प्याड वितरण गर्ने, प्रयोग गर्ने तरिका, डिस्पोज गर्ने तरिका सिकाउन जरुरी छ । स्थानीय सरकारले प्याड दिएको छ तर अझै साथीले पुराना लुगाफाटा प्रयोग गरिरहेका छन् ।’

सामुदायिक विद्यालयमा अध्ययन गर्ने धेरै बालिका विपन्न समुदायका छन् । विपन्न समुदायका बालिकाले प्याड किनेर प्रयोग गर्ने अवस्था छैन । अधिकांश बालिकाले महिनावारी समयमा प्रयोग गरिसकेका लुगाफाटा प्रयोग गर्नेगरेका छन् । पछिल्लो समय सेनेटरी प्याड वितरण गर्ने गरिएको भए पनि व्यवस्थापनमा चुनौती बनेको छ । विद्यालयमा प्रयोग गरिसकेका प्याड खोला खाल्सामा फाल्ने गरिएको छ ।

यसैबिच कालीकोटका ६ वटा सामुदायिक विद्यालयमा आधारभूत स्वास्थ्य सर्वेक्षण गरिएको छ । विद्यालयमा महिनावारी स्वच्छता व्यवस्थापन र खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धी सूचकका आधारमा आधारभूत स्वास्थ्य सर्वेक्षण गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको अनुगमन मूल्याङ्कन, अनुसन्धान तथा सिकाइ विभागले सर्वेक्षण गरेको हो । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाका पाँच र नरहरीनाथ गाउँपालिकाको एउटा गरी ६ वटा सामुदायिक विद्यालयमा सर्वेक्षण गरिएको छ ।

६ सामुदायिक विद्यालयका कक्षा ७ र ८ का विद्यार्थीमा सूचकका आधारमा सर्वेक्षण गरिएको सर्वेक्षक टोलीका संयोजक हेमप्रसाद घिमिरेले बताउनुभयो । उहाँका अनुसार २०७९ वैशाखमा ६ सामुदायिक विद्यालयमा सर्वेक्षण गरिएको हो । जसमा १०४ जना छात्रा र ५० जना छात्र थिए । 

गरिएको सर्वेक्षणको तथ्याङ्कले बालबालिका सहज सेवाको पहुँचमा नरहेको देखाएको छ । विद्यालयमा गरिएको सर्वेक्षणमा ५८ प्रतिशत बालिकाले महिनावारीसम्बन्धि ज्ञान नभएको बताएका छन् । महिनावारीसम्बन्धि प्रश्न र छलफलमा अधिकांश विद्यार्थीले यस विषयमा कुनै प्रतिक्रिया जनाएनन् ।

विद्यालयमा गरिएको सर्वेक्षणमा ५८ प्रतिशत बालिकाले महिनावारीसम्बन्धि ज्ञान नभएको बताएका छन् ।

६७ प्रतिशत बालिकाले बालिकाका लागि छुट्टै शौचालय नभएको र ९१ प्रतिशतले सरसफाइको अभाव रहेको बताएका थिए । यसैगरी ८७ प्रतिशत बालिकाले शौचालयमा नियमित पानी नआउने बताएका छन् । ७४ प्रतिशत बालिकाले विद्यालयमा छुट्टै हातधुने स्टेसनमा पानी प्रवाह नभएको जनाएका छन् । ९१ प्रतिशतले साबुन नहुने गरेको जनाएका छन् । 

सर्वेक्षणमा ८८ प्रतिशत बालिकाले विद्यालयमा सेनेटरी प्याड नपाएको र विश्राम कोठा नभएको जनाएका छन् । यस्तै, ८३ प्रतिशत बालिकाहरूले सेनेटरी प्याड व्यवस्थापन (फाल्ने) सुविधा नभएको प्रतिक्रिया दिएका छन् ।

विद्यालयमा गरिएको आधारभूत स्वास्थ्य सर्वेक्षणमा ६४ प्रतिशत बालबालिकाले पिउने पानी सिधै पाइपबाट पिउने गरेको जनाएका छन् । ५० प्रतिशतले पिउने पानी अपर्याप्त रहेको, ५७ प्रतिशत बालबालिकाले पिउने पानी सबै उमेर समूहको बालबालिकाको पहुँचमा नरहेको प्रतिक्रिया दिएका छन् ।