• २० वैशाख २०८१, बिहिबार

मतदाता फकाउन गाउँ गाउँमा उम्मेदवार

blog

चुनावी घरदैलो अभियानका क्रममा मतदातासँग भोट माग्दै उम्मेदवार ।

शैलेन्द्र रोकाया 

बझाङ, वैशाख ७ गते ।  यही वैशाख १५ गते हुने बझाङ जिल्लाको (क) उपनिर्वाचनका लागि उम्मेदवारहरू गाउँ गाउँ पुगेर मतदातालाई पक्षमा फकाउन थालेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न दल तथा उम्मेदवारले घरदैलो भेटघाट र निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाएका छन् । उम्मेदवार तथा दलका नेता कार्यकर्तालाई मतदाता भेटघाट गर्न भ्याइनभ्याइ छ । जनमत आफ्नो पक्षमा ल्याउन उम्मेदवारहरू विभिन्न रणनीति तथा नारा बोकेर गाउँ गाउँ छिरेका छन् । गाउँबस्तीमा निर्वाचन सरगर्मी पनि बढेको छ । 

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदै छ । नेपाली कांग्रेसका उम्मेदवार तथा स्व. सिंहका छोरा अभिषेकबहादुर सिंह सेतो वस्त्रका साथ सान्त्वनास्वरूप मत मागिरहनुभएको छ ।

उहाँले घर घरमा पुगेर विकासका एजेन्डाका साथै आफ्ना बुवाले गर्न नसकेका अधुरा कामलाई निरन्तरता दिनेमा जोड दिनुभएको छ । उहाँसँगै चर्चित देउडा गायक नन्दकृष्ण जोशी पनि देउडा गाउँदै सिंहलाई भोट माग्दै हिँडिरहनुभएको छ । 

त्यस्तै नेकपा (एमाले) का उम्मेदवार दमन भण्डारीलाई समेत निर्वाचनको प्रचारप्रसार गर्न भ्याइनभ्याइ छ । एमालेले गाउँ गाउँमा आफ्ना एजेन्डासहित मतदातालाई रिझाइरहेको छ । 

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनक बुढा, नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंह, राप्रपाका उम्मेदवार किशोर 

खड्कालगायतका नेता चुनाव प्रचारप्रसारका लागि गाउँ गाउँ पुग्नुभएको छ । उम्मेदवारसँगै राजनीतिक दलका जिल्लास्तरीय नेता तथा कार्यकर्ता मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय रूपमा लागिपरेका छन् । यो पटकको उपनिर्वाचन अलि रोचक हुने भएको छ । 

यस जिल्लामा राम्रो प्रभाव राख्ने स्व. पृथ्वीबहादुर सिंहका छोरा अभिषेक युवाका बिच लोकप्रिय हुनुहुन्छ भने एमालेका जिल्ला अध्यक्षसमेत रहेका भण्डारी पनि एमालेको सङ्गठन राम्रो भएका कारण बाजी मार्ने दाउमा हुनुहुन्छ ।

संविधान सभा सदस्य एवं माओवादी केन्द्रबाट उम्मेदवार जनक बुढा पनि जिल्लाकै प्रभावशाली नेता हुनुहुन्छ । उहाँ व्यावहारिक मत पाउने आशामा हुनुहुन्छ । एमाले उम्मेदवार भण्डारी र माओवादी उम्मेदवार बुढा छबिसपाथीभेरा गाउँपालिकाका  बासिन्दा हुनुहुन्छ । सो पालिकाको मत विभाजन हुने आशङ्का गरिएको छ । एकीकृत समाजवादीका केन्द्रीय नेता एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीसमेत सोही पालिकाको हुनुहुन्छ । 

सङ्घीय मन्त्री जोशी पनि जिल्लाको लोकप्रिय नेता हुनका साथै सोही पालिकाको भएका कारण समाजवादी पार्टीसमेत जित आफ्नो पक्षमा आउने गरी लागिपरेको छ । यसलाई एमालेको पनि राम्रो पकड भएको क्षेत्रका रूपमा लिने गरिएको छ ।

एमालेका पूर्वजिल्ला अध्यक्षसमेत रहेका समाजवादीका उम्मेदवार दिलबहादुर सिंह आफूले चुनाव जित्ने दाउमा हुनुहुन्छ । कांगे्रस उम्मेदवार अभिषेक र समाजवादीका उम्मेदवार दिलबहादुर जयपृथ्वी नगरपालिकाको एउटै वडाका बासिन्दा हुनुहुन्छ । एमालेको समेत राम्रो प्रभाव भएको यस नगरपालिकामा समाजवादीका उम्मेदवार सिंहले एमालेको मत काट्ने आकलन गरिएको छ । गएको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित स्व. सिंहले १७ हजार ११२ मत ल्याउनुभएको थियो । 

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाउनुभएको थियो । २०४८ सालयता यो क्षेत्रमा चार पटक एमाले र तीन पटक कांग्रेसले विजय हासिल गरेको थियो । सात वटा स्थानीय तह भएको उपनिर्वाचनमा चार वटा गाउँपालिकामा कांग्रेस विजयी भएको छ भने एउटामा माओवादी केन्द्र र दुई वटामा एमाले विजयी भएको छ । सङ्घ र प्रदेशमा झैँ स्थानीय तहमा पनि कांग्रेस, माओवादी र समाजवादी मिलेर चुनाव लडेका थिए ।