• २० वैशाख २०८१, बिहिबार

गुरु रेम्बोर्छेको मूर्तिको प्राणप्रतिष्ठा

blog

प्राणप्रतिष्ठा गरिएको गुरु रेम्बोर्छे (पद्मसम्भव) को मूर्ति ।

दोलखा समाचारदाता

दोलखा, वैशाख ७ गते । दोलखाको भीमेश्वर नगरपालिका–६, चोथाङस्थित बहु सांस्कृतिक सङ्ग्रहालय क्षेत्रमा निर्माण भएको गुरु रेम्बोर्छे (पद्मसम्भव) को मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ ।

बिहीबार वडा नम्बर ६ को आयोजनामा बौद्ध धर्मगुरु उर्गेन छ्योङ हेसे डोल्पो टुल्कु रिन्पोर्छेले पूजासहित पद्मसम्भवको प्राणप्रतिष्ठा गर्नुभएको वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सो कार्यक्रममा खेन्पो सोनम छिरिङ तामाङ, खेन्पो मिग्मार लामा दर्जनौँ लामा गुरुको समेत उपस्थिति थियो । वाङ आयुबाट अभिशेष पूजा कार्यक्रमसमेत भएको छ । 

बागमती प्रदेशको १५ लाख र नगरको १५ लाख, सहरी शासकीय क्षमता विकास कार्यक्रमको १५ लाख र आर्थिक सङ्कलन पाँच लाख गरी ५० लाख रुपियाँमा पोखरीसहितको मूर्ति निर्माण भएको हो । पोखरीसहितको १४ फिटे पिलरमा १६ फिट अग्लो मूर्ति निर्माण भएको छ । पिलरको चारैतिर कमलको फूल अङ्कित रहेको छ । मूर्तिको पछिल्ला भागमा विभिन्न मन्त्र राखिएका छन् । 

यो सङ्ग्रहालय निर्माणका लागि वडाको पाँच लाख रुपियाँको लागतमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको हो । परियोजनाको प्रतिवेदन तयार भएसँगै बाँकी संरचना निर्माणका लागि भीमेश्वर नगरपालिकामा पेस गरिएको छ । वडाध्यक्ष लामाले भन्नुभयो, “लगानीका लागि नगरपालिका, प्रदेश, सङ्घ तथा विभिन्न जातजातिसँग पनि आग्रह गर्न लागिएको छ ।”