• २० वैशाख २०८१, बिहिबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त

blog

प्रदेश प्रमुख नजिर मियाँ नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्रीको नियुक्ति पत्र दिँदै । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, वैशाख ६ गते। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सोडारीलाई बिहीबार साँझ मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो। 

मुख्यमन्त्री सोडारीलाई सङ्घीय सरकारको समीकरणमा भएका दल नेकपा (एमाले) १०, नेकपा (माओवादी केन्द्र) १०, नेकपा (एकीकृत समाजवादी) चार, नागरिक उन्मुक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको छ। सो सङ्ख्या सुदूरपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन्।

सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा गर्नुभएको थियो। 

प्रदेश प्रमुख मियाँले बिहीबार साँझ ७ बजे मुख्यमन्त्री सोडारीलाई शपथग्रहण गराउनुहुने भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गानाले बताउनुभयो।