• १९ वैशाख २०८१, बुधबार

चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, वैशाख ६ गते । चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै अभिनेता अनमोल केसीले आफ्ना लागि ‘फर्की फर्की’ नयाँ किसिमको र चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले आफ्ना लभ स्टोरी चलचित्रहरू दर्शकहरूले बढी रुचाएकाले यस चलचित्र पनि रुचाउने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले अन्य कलाकारहरूले भनेको जस्तो आफूसँग पाइपलाइनमा १० वटा फिल्महरू नरहेको बताउनु भयो । उहाँले कुनै नयाँ फिल्म खेल्ने योजना नबनाएको बताउँदै चलचित्र ‘फर्की फर्की’को नतिजापछि मात्रै अर्का फिल्मबारे सोच्ने बताउनु भयो । उहाँले यो फिल्मपछि कुन फिल्म आउँछ भन्नेबारेमा आफू पनि अनविज्ञ रहेको बताउनु भयो ।

चलचित्र फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गर्नुभएको छ । सुयोगकै कथा एवम् पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । मनोज वली र रामु न्यौपाने सहनिर्माता, अरुण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता हुनुहुन्छ ।

नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुनुहुन्छ । काफिया फिल्मस र कुबेर फिल्मले ‘फर्की फर्की’ लाई वितरण गर्नेछन् । यो लभस्टोरी फिल्म बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिलममा केसीसँगै जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ ।