अनिल पराजुली
हेटौँडा, वैशाख ६ गते । हेटौँडा-५ स्थित पिप्लेक्याम्पा रङ्गशालामा भएको मेयर कप फुटबल प्रतियोगिता-२०८० को उपाधि हेटौँडा उपमहानगरपालिका ४ ले जितेको छ । हेटौँडा–१४ लाई सडनडेथमा हराउँदै हेटौँडा-४ ले चौथो संस्करणको उपाधि जितेको हो ।
सडनडेथमा ६–५ गोलअन्तरले विजयी हुँदै उपाधिसहित विजेता टोलीले नगद २ लाख र उपविजेताले नगद १ लाख ५० हजार रुपियाँ प्राप्त गरेका हुन् । प्रतियोगिताका विजेता तथा उपविजेता, सर्वोत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई हेटौँडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ तथा आयोजक हेटौँडा नगर खेलकुद विकास समिति अध्यक्ष रविन्द्र घिमिरेले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा हेटौँडा–४ का खेलाडी अनिष महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले नगद १० हजार रुपियाँ प्राप्त गर्नुभयो । हेटौँडा–४ गोलरक्षक निरज देउला, मिडफिल्ड दीपेश भण्डारी, प्रशिक्षक शङ्कर खड्ग, हेटौँडा–१४ का फरवार्ड अनुप राना मगर र डिफेन्डर सुविन धमला, हेटौँडा–१५ का विश्वास भोलन सर्वाधिक गोलकर्ता घोषित हुनुभयो । उत्कृष्ट सबैले जनही ५-५ हजार रुपियाँ प्राप्त गर्नुभयो । प्रतियोगितामा हेटौँडा १५ नम्बर वडा तेस्रो र १३ नम्बर वडा चौथो स्थानमा रह्यो । दुवै टोलीले क्रमशः ५० र २५ हजार रुपियाँ प्राप्त गरेका थिए ।