• १९ वैशाख २०८१, बुधबार

५४५ हेक्टरभन्दा बढी वन क्षेत्रमा डढेलो

blog

नवराज श्रेष्ठ

रामेछाप, वैशाख ६ गते । यो वर्ष हालसम्म रामेछाप जिल्लाको ५४५ भन्दा बढी हेक्टर क्षेत्रफल वन क्षेत्रमा डढेलो लागेको छ । दुई वटा नगरपालिका र छ वटा गाउँपालिका रहेको रामेछापमा छ वटा सबडिभिजन वन कार्यालय छन् । अहिलेसम्म छ वटा सबडिभिजन अन्तर्गतका ५४५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय रामेछापका सूचना अधिकारी देवेन्द्र यादवले बताउनुभयो ।  

उहाँका अनुसार यो वर्षको हालसम्म जिल्लाभरका ५० वटाभन्दा बढी सामुदायिक वन क्षेत्रमा आगलागी भएको छ । सूचना अधिकारी यादवका अनुसार जिल्लाको उमकुण्ड र गोकुलगङ्गा गाउँपालिका हेर्ने ताँवे डिभिजन वन कार्यालय अन्तर्गतका २१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । त्यसै गरी लिखुतामाकोशी गाउँपालिका हेर्ने धोबी सबडिभिजन अन्तर्गत ७६ हेक्टर, रामेछाप नगरपालिका हेर्ने हिमगङ्गा सबडिभिजन अन्तर्गत ३१.५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । त्यस्तै मन्थली नगरपालिका हेर्ने चिसापानी सबडिभिजन अन्तर्गत ३२६ हेक्टर, दोरम्बा शैलुङ गाउँपालिका हेर्ने दोरम्बा सबडिभिजन अन्तर्गत १५ हेक्टर र खाँडादेवी र सुनापति गाउँपालिका हेर्ने खाँडादेवी सबडिभिजन कार्यालय अन्तर्गत २५.५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ ।

एक जनाको मृत्यु 

रामेछापमा बर्सेनि वन डढेलोबाट ठुलो क्षति हुने गरेको छ । गाउँबस्ती वरपर हुने सामान्य हेलचक्य्राइँका कारण सिङ्गो मानवबस्ती र वन क्षेत्रमा नोक्सानी हुँदै आएको छ । गत चैत १ गते रामेछाप नगरपालिका–९, टारमा नजिकैको जङ्गलमा लागेको आगो गाउँमा पसेपछि गाउँका १३ घरपरिवारका घरगोठ जलेर नष्ट भएका थिए । आगलागीबाट घरगोठमा भएका सबै सामान जलेका थिए । आगलागीबाट ६० भन्दा बढी बाख्रा, दुई वटा भैँसीलगायतका पशु वस्तु मरेका छन् । 

वनमा लागेको आगो बस्तीमा सल्किँदा रामेछापमा यो वर्षको हालसम्म २६ वटाभन्दा बढी घरगोठ जलेर नष्ट भएको सूचना अधिकारी यादवले बताउनुभयो । उहाँका अनुसार डढेलोका कारण एक जनाको मृत्यु भएको छ भने एक सय वटाभन्दा बढी पशु वस्तु मरेका छन् । वनमा आगो लगाउने व्यक्तिको पहिचानमा समस्या हुने भएकाले डढेलोका घटनामा कमी आउन सकेको छैन । आगलागीबाट सर्वसाधारणको घरगोठ मात्रै नभई बर्सेनि वन क्षेत्रमा वनस्पति तथा जैविक विविधतामा समेत ठुलो असर पुग्ने गरेको छ । 

जनचेतनामूलक कार्यक्रम सहरकेन्द्रित

कुनै व्यक्तिले वनमा आगो लगाएर क्षति भएमा क्षति भए बराबरको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपियाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । सुक्खायाम सुरु भएदेखि रामेछापमा सामुदायिक, निजी र कबुलियत वनमा आगलागीका घटना भइरहेका छन् । आगलागीको घटना न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले समुदायमा जनचेतनामूलक कार्यव्रmम गरिरहेको बताए पनि त्यो कार्यक्रम प्रभावकारी बन्न नसकेको गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “वन डढेलोका घटना हुन नदिन सबैभन्दा बढी जिम्मेवार डिभिजन वन कार्यालय बन्नु पर्छ तर यो विषयमा यो कार्यालयको भूमिका कमजोर देखियो । धेरै डढेलोका घटना ग्रामीण भेगमा भइरहेका छन् तर डिभिजन वन कार्यालय भने सदरमुकामलगायत सहरी क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । यो त मिलेन नि ।” 

अहिले वनमा डढेलो लगाउनु हुँदैन भन्ने सबै मानिसमा चेतना भएर पनि डढेलोको घटना झन् बढ्नुको प्रमुख कारण डढेलो लगाउनेको पहिचान गरी कानुन अनुसार कारबाही गर्न नसक्नु भएको उहाँको भनाइ छ ।  वन डढेलोको घटना कम गर्न वन उपभोक्ता समूहलाई बढी जिम्मेवारी बनाउँदै उनीहरूलाई बढीभन्दा बढी खबरदारी गर्नुपर्नेमा उहाँको जोड छ ।