• १८ वैशाख २०८१, मङ्गलबार

सर्वाधिक मोटे मिनेख

blog

विश्वमा सबैभन्दा गह्रौँ मानिसको कीर्तिमान जोन ब्रावर मिनेखको नाममा छ । अमेरिकाका मिनेखको तौल छ सय ३५ किलोसम्म पुगेको थियो । सन् १९७८ मार्चमा मिनेखलाई गाडीमा राखेर सियाटलको युनिभर्सिटी अफ वासिङ्टन मेडिकल सेन्टर लैजाँदा १२ जनाभन्दा बढी दमकलकर्मी आवश्यक पर्‍यो । त्यस सेन्टरमा चिकित्सकले मिनेखको जाँच गर्दा उनको शरीरका तन्तुमा धेरै नै तरल पदार्थ जम्मा भएर तौल बढेको पत्ता लगाएका थिए । 

अस्पताल बसाइ अवधिमा चिकित्सकले दैनिक १२ सय क्यालोरी आहारा मात्र उनलाई खान दिएका थिए । त्यहाँ दुई वर्षको अवधिमा मिनेखको तौल चार सय १० किलो घट्यो । शरीरको धेरै तौल घट्नमा समेत यो एक कीर्तिमान नै हो । दुःखको कुरा त के भने अस्पतालबाट बिदा भएर घर फर्केपछि मिनेखको तौल फेरि बढ्न सुरु भयो र सन् १८८३ सेप्टेम्बरमा उनको निधन भयो । मृत्यु हुँदा उनी करिब तीन सय ६२ किलोका थिए । 

आफ्नो जीवनको सुरुका दिनमा नै मिनेखको अस्वाभाविक तौल बढ्न सुरु भएको थियो । १२ वर्षको उमेरमै उनी एक सय ३३ किलोका थिए र उनको तौल निरन्तर बढिरह्यो तर उनको मोटोपनाले उनलाई सामान्य जीवन जिउनबाट टाढा राख्न सकेन । उनले एक ट्याक्सी कम्पनी खोले र वासिङ्टनको बेनब्रिज आइल्यान्डमा रहेको आफ्नो घर क्षेत्रमा एक चालकका रूपमा कम गर्न थाले । 

आफ्नो अस्वाभाविक तौलका अतिरिक्त मिनेखले अर्को अचम्मको कीर्तिमान पनि राखेका छन् । सन् १९७८ मा जब उनले मोटोपनामा विश्व कीर्तिमा बनाए, जेनेट नामकी महिलासँग विवाह गरेर अर्को कीर्तिमानसमेत आफ्नो नाममा लेखाए । जुन कीर्तिमान थियो, श्रीमान् श्रीमतीबीच सर्वाधिक धेरै शारीरिक तौलको भिन्नता । एकातिर मिनेख छ सय ३५ किलोका थिए भने उनी श्रीमती मात्र ५० किलोकी थिइन् । मिनेख दम्पतीबाट दुई बच्चा भएका थिए । 

–बोमबहादुर रायमाझी