• १९ वैशाख २०८१, बुधबार

भगिश्वरको थोःक्ला कृतिको चर्चा

blog

थोःक्ला कविता सङ्ग्रहको चर्चापछि सार्वजनिक गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ४ गते ।
 तेह्रथुमका पत्रकार तथा मानवअधिकारकर्मी भगिश्वर लिम्बू (मनोज) को कृति ‘थोःक्ला’ को ताप्लेजुङमा चर्चा गरिएको छ । लिम्बू भाषामा आधारित कविता सङ्ग्रह थोःक्लाको सदरमुकाम फुङ्लिङमा स्थानीय पत्रकार तथा सञ्चारकर्मी माझ चर्चा गरिएको हो ।

स्थानीय पत्रकार तथा सञ्चारकर्मीलाई प्रकाशित कविता सङ्ग्रह थोःक्ला वितरण गर्नुहुँदै लेखक लिम्बूले कृतिका बारेमा प्रकाश पार्नुभएको थियो । कृतिबारे प्रकाश पार्दै उहाँले लिम्बू भाषा र लिपि संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले कविता सङ्ग्रह थोःक्ला प्रकाशित गरेको बताउनुभयो । गद्य, पद्य तथा पालाम र माङ्घो छन्दका कविता कृतिमा समावेश रहेको पनि उहाँले जानकारी दिनुभयो । कृतिमा ३५ वटा कविता समावेश गरिएको छ ।

लिम्बू भाषामा थोःक्ला र नेपाली भाषामा ढोया वा उपहार हो । लिम्बू संस्कृति र संस्कारमा चेलीले माइतीलाई कुनै जिन्सी उपहार स्वरूप दिने वा ढोया लगाउने गरिन्छ । त्यसबापत माइती पक्षले जिन्सीको लागतभन्दा कम्तीमा दोब्बर हिसाब अनुमान गरेर चेलीलाई नगद वा सुनको गरगहना दिने पुरानो संस्कार रहेको छ, जन संस्कारलाई ढोया लगाउने भनिन्छ । विदेश गएका वा लाहुरे माइती घर फर्किँदा चेलीले ढोया लगाउने गर्दछन् ।

यता लिम्बूको कविता सङ्ग्रहले लिएको उद्देश्य प्राप्तिका लागि केही न केही टेवा पुग्ने कार्यक्रममा सहभागीले बताएका थिए । आधुनिकतासँगै बिस्तारै हराउँदै गएको मौलिक भाषा, संस्कार संस्कृतिको पुनः जागरण गर्ने उद्देश्यले कृति प्रकाशित गरेर लिम्बू भाषा र लिपिको संरक्षणमा हुँदै आएको अभियानलाई समेत सहयोग पुगेको विषयमा चर्चा गरिएको थियो ।