• १८ वैशाख २०८१, मङ्गलबार

भकिम्ली र बेलढुङ्गामा पर्यटकको भीड (फोटो फिचर)

blog

म्याग्दी र बागलुङको सिमानामा अवस्थित पर्यटकीयस्थल बेलढुङ्गामा पुगेका पर्यटक । तस्बिरः साधन घर्ती

साधन घर्ती

म्याग्दी (दरबाङ), चैत ४ गते । म्याग्दीको बेनी नगरपालिका –३, भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका –३, ओखलेको शिरमा अवस्थित पर्यटकीय स्थल बेलढुङ्गामा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । 

समुद्र सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइको बेलढुङ्गाबाट हिमाल, सुर्योदय र लालिगुराँसको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि भएको हो । घना गुराँसे जङ्गगलबिचमा बेल आकृतिको चेप्टो परेको विशाल चट्टानबाट उत्तरतर्फ चाँदीझैं टल्कने सेता हिमालको दृश्यावलोकन गर्न सकिन्छ । 

बेनी नगरपालिका –३, का वडाध्यक्ष पदम पुन मगरले गुराँसको जङ्गल, बेलढुङ्गाबाट देखिने १३ वटा हिमाल र म्याग्दी, बागलुङ, पर्वतलगायत जिल्लाका ४१ भूदृश्यले पर्यटकलाई थप मोहित बनाइदिने बताउनुभयो । सडकको म्याग्दी र बागलङ दुवैतिरबाट पहुँच, पदमार्ग निर्माण, साइकल लेन, होमस्टे, पार्किङलगायतका पूर्वाधार बनेका छन् । 

सोही बेलढुङ्गा र स्वर्गाश्रमको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेलढुङ्गा सामुदायिक होमस्टे र स्वर्गाश्रम व्यवस्थापन समितिको संयुक्त आयोजनामा तीन दिने महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा ठुलो सङ्ख्यामा पर्यटक बेलढुङ्गा पुगेको महोत्सव आयोजक समितिका संयोजक गोपाल श्रीषले बताउनुभयो ।

बेलढुङ्गा प्राकृतिक सौन्दर्य अवलोकनका लागि मात्र होइन, आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान भएको बेलढुङ्गा घुम्न आउनुभएका बेनीका यामबहादुर खड्काले बताउनुभयो । 

चैत–वैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँ पुग्ने जोसुकैको मनलाई आकर्षित गर्नसक्ने भएकाले यसको प्रचार–प्रसारमा अझै जोड दिनुपर्ने म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । ढुङ्गा विच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै स्वर्गाश्रमबाट करिब एक घण्टाको उकालो छिचोलेपछि बेलढुङ्गा डाँडामा पुग्न सकिन्छ ।