• १९ वैशाख २०८१, बुधबार

नागढुङ्गा सुरुङ मार्गमार्फत नेपाल नयाँ युगमा प्रवेश

blog

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’ कार्यक्रममा बोल्नुहुँदै

काठमाडौं, वैशाख ३ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

सोमबार नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’ कार्यक्रममा बोल्नुहुँदै उपप्रधानमन्त्री महासेठले यस्तो बताउनुभएको हो । उहाँले नागढुङ्गा सुरुङमार्ग नेपालको आधुनिक सुरुङमार्ग भए पनि दक्षिण एसियामा सबै भन्दा पहिला सुरुङमार्ग नेपालमा नै निर्माण भएको बताउनुभयो ।

उहाँले हेटौँडामा अहिले पनि सुरक्षित रहेको सुरुङ मार्ग नेपालकै प्रविधिमा बनेको बताउनुभयो । उहाँले सरकारले सडक मार्गको समय छोटो बनाउन र यात्रालाई सुरक्षित बनाउनका लागि सुरुङमार्गलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । उहाँले नेपाली सेनाले निर्माण गरी रहेको काठमाडौँ तराई द्रुतमार्गमा पनि १० किलोमिटर सुरुङमार्ग निर्माण भइरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री महासेठले सुरुङमार्ग निर्माणको निर्माण यातायातको लागि मात्रै नभएर अन्य विद्युत तथा सिँचाइको लागि पनि प्रयोग हुन थालेको जानकारी दिनुभयो । उहाँले सुनकोशी मरिण ड्राइभर्सन पनि ब्रेक थ्रु हुनको लागि ७ सय मिटर मात्रै बाँकी रहेको बताउनुभयो ।

‘‘नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको छ । यो नेपालको आधुनिक सुरुङमार्ग भएपनि दक्षिण एसियामा सबै भन्दा पहिला सुरुङमार्ग नेपालमा नै निर्माण भएको थियो । हेटौँडामा जुन अहिले पनि सुरक्षित छ । त्यो नेपालकै टेक्नोलोजीमार्फत भएको थियो । सरकारले सडक मार्गको समय छोटो बनाउन र सुरक्षित यात्रा गर्नका लागि सुरुङमार्गलाई प्राथमिकता दिएको छ । नेपाली सेनालाई निर्माण गरी रहेको काठमाडौँ तराई द्रुतमार्गमा पनि ५ किलोमिटरदेखि १० किलोमिटर सुरुङमार्ग निर्माण भइरहेको छ ।,’’ उपप्रधानमन्त्री महासेठले भन्नुभयो, ‘‘सुरुङमार्ग निर्माणको निर्माण यातायातको लागि मात्रै होइन । अन्य कार्यका लागि पनि सुरु भएको छ । सुनकोशी मरिण ड्राइभर्सन पनि ब्रेक थ्रु हुनका लागि सात सय मिटर मात्रै बाँकी छ । सुरुङ मार्ग निर्माणमा एक महिना स्थानीयवासीहरुको कारण बन्द भएको थियो । तर स्थानीयवासीका मागहरू खानेपानी व्यवस्थापन, सडकको व्यवस्था गर भनेर माग्नुपर्ने चिज होइन । यो सरकारले जनतालाई दिने हो । जनताको अधिकार छ । राम्रो बाटोमा हिँड्न पाउँ, शुद्ध पानी खान पाउने अधिकारको व्यवस्थापन नेपाल सरकारले गर्छ । सुरुङ मार्ग निर्माणका स्थानीयवासीले सहयोग गर्नुस् ।’’

उहाँले सुरुङ मार्ग निर्माणमा एक महिना स्थानीयवासीहरुको कारण बन्द भएको भन्दै सरकारले स्थानीयवासीको मागलाई सम्बोधन गर्ने बताउनुभयो । उहाँले स्थानीयवासीका मागहरू खानेपानी व्यवस्थापन,सडकको व्यवस्थापन नेपाल सरकारले गर्ने बताउनुभयो ।