• १३ साउन २०८१, आइतबार

दोलखामा ७८ हेक्टर वन क्षेत्रमा डढेलो

blog

फोटो क्याप्सन आगलागी भएको वन क्षेत्र । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, वैशाख ३ गते । दोलखाका सामुदायिक वनहरू डढेलोको जोखिममा पर्न थालेका छन् । विगत केही महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा दैनिकजसो डढेलो लाग्दै आएको स्थानीयले बताएका छन् । सामुदायिक वनहरूमा डढेलो लागेका कारण संरक्षण गरेका वनजङ्गल नष्ट हुने र नजिक रहेका घरगोठमा आगलागी हुने डर रहेकाले स्थानीय त्रसित हुन थालेका छन् ।

मानवीय लापरबाहीले गर्दा दोलखामा बर्सेनि सयौँ हेक्टर वन जङ्गल डढेलोका कारण खरानी हुने गरेको छ । दोलखामा आर्थिक वर्ष ०८०/०८१ चैत महिनासम्म करिब ७८ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ ।

डिभिजन वन कार्यालय दोलखाअन्तर्गत ७ वटा सब डिभिजन वन कार्यालय छन् । भीमेश्वर सब डिभिजन कार्यालयअन्तर्गत १५ हेक्टर, कालिञ्चोक सब डिभिजनअन्तर्गत २० हेक्टर तामाकोसी सब डिभिजनअन्तर्गत १३ हेक्टर, हनुपन्ते सब डिभिजनअन्तर्गत ७ हेक्टर, मेलुङ सब डिभिजनअन्तर्गत १६ हेक्टर र शैलुङ सब डिभिजनअन्तर्गत ७ हेक्टर गरेर करिब ७८ हेक्टर वन क्षेत्रमा डढेलो लागेको वन अधिकृत चिरञ्जीवी थापामगरलले बताउनुभयो ।

आगलागीका कारण जङ्गलमा भएका काठदाउरा, बोटबिरुवासँगै पशुपन्छीको वासस्थानमा क्षति पुगेको छ । डढेलो नियन्त्रणका लागि वन समूहले सचेतनामूलक कार्यक्रमहरू गरे पनि कार्यक्रमहरू प्रभावकारी हुन सकेको छैन । वन जङ्गलमा आगलागीका घटनाहरू नियतवश हुने गरेको कार्यालयले जनाएको छ ।

जङ्गलमा आगलागी गराउनुहुन्न भन्ने ज्ञान स्थानीयहरूलाई भएतापनि तर जङ्गल सफा गराउने, राम्रो घाँस पलाउने लगायत विभिन्न कारणले डढेलो लगाउने गरेको पाइएको अधिकृत मगरलले बताउनुभयो । वन डढेलो धेरैजसो घटना मानवीय लापरबाहीका कारण आगलागी हुने गरेका छन् । 

जङ्गलमा सुकेका पातपतिङ्गर डढेलोले सल्किएपछि नयाँ घाँस पलाउने लोभमा पनि कतिपय ठाउँमा गाई गोठालाले लुकेर आगो लगाउने गरेको पाइन्छ । आगोले वनजङ्गलमा डढेलोको रूप लिँदा वन, वनस्पति, वन्यजन्तुमा ठुलो नोक्सानी हुने गरेको छ ।

वन कार्यालयले डढेलो नियन्त्रणका लागि १० जना हरित स्वयंसेवक नियुक्ति गरेको छ । वन क्षेत्रमा डढेलो लगाउनेलाई माफी माग्न लगाउन, डढेलो नियन्त्रणसम्बन्धी गाउँगाउँमा जनचेतना फैलाउन लगाउने जस्ता काम गर्न लगाउने गरिएको उहाँले बताउनुभयो ।