• २० वैशाख २०८१, बिहिबार

प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश

blog

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ।

दिपायल समाचारदाता

दिपायल, वैशाख ३ गते । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो प्रमुख भूमिका र जिम्मेवारी रहेको बताउनुभएको छ । डोटीको सिलगढीमा आइतबार उहाँलाई गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै उहाँले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष न्यायपालिकाको मान्यता अक्षुण्ण राख्दै प्रभावकारी न्याय प्रशासन कायम गर्न लागिपरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “न्यायपालिकाको नेतृत्व सम्हालेदेखि नै आफूलाई न्यायिक सुधार र न्यायपालिकाको श्रीवृद्धिमा समाहित गर्दै आएको छु, जस अनुसार न्यायिक सुधारका सकारात्मक सङ्केत र उपलब्धिसमेत देखा पर्दै गएका छन् । बाँकी अवधि पनि म त्यसैमा समर्पित गर्ने वाचा गर्दछु ।” स्वच्छ, निष्पक्ष छिटोछरितो गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन तथा सुशासन र विधिको शासनको प्रत्याभूति गर्दै आमनागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्ने कसरतमा आफू रहेको उहाँले बताउनुभयो । 

“न्यायकर्मीको भूमिका र संलग्नता विकासप्रति खासै हुँदो रहेनछ । त्यसैले मैले यस क्षेत्रको भौगोलिक विकासमा यहाँहरूको अपेक्षा अनुसारको योगदान गर्न नसकेको पनि हुँला तर न्याय समानता, विधिको शासन र सुशासनको प्रत्याभूतिमार्फत मुलुकको समृद्धि र न्यायपूर्ण समाज स्थापनाका लागि न्यायपालिकाले खेल्ने भूमिका निर्वाह गर्ने योगदान त्यत्तिकै महत्वपूर्ण हुन्छ । म त्यो योगदान इमानदारी, निष्ठा र नैतिकतासाथ गर्ने छु,” उहाँले भन्नुभयो ।

व्यावसायिक जीवनको यात्राको करिब उत्तरार्धमा आफ्नो जन्मभूमिमा प्राप्त सम्मान, अपार माया र सद्भावले आफ्नो जीवन सफलीभूत भएको महसुस गरेको उहाँले बताउनुभयो । 

प्रधान न्यायाधीश श्रेष्ठलाई गृह जिल्ला डोटीमा नागरिक अभिनन्दनसहित सम्मान गरिएको हो । आइतबार प्रधान न्यायाधीश श्रेष्ठको सिलगढीस्थित पुख्र्यौली घरबाट बाजागाजा र स्थानीय सांस्कृतिक झाँकीसहित बजार परिक्रमा गराएर शैलेश्वरी मन्दिर परिसरमा नागरिक अभिनन्दन पत्र र दोसल्लासहित अभिनन्दन गरिएको हो । डोटीस्थित स्थानीय सरकार, धार्मिक तथा सामाजिक संस्था र नागरिक समाजलगायतका १४ वटा सङ्घ संस्थाले उहाँलाई नागरिक अभिनन्दन गरेका हुन् ।

लामो समयदेखि न्याय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएबापत उच्च सम्मानसाथ उहाँलाई नागरिक अभिनन्दन गरिएको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंहले बताउनुभयो ।  प्रधान न्यायाधीश श्रेष्ठ नेपालको इतिहासमै डोटीबाट पहिलो पटक प्रधान न्यायाधीश जस्तो गरिमामय पदमा पुगेर समग्र सुदूरपश्चिमेलीको शिर उँचो पारेको उहाँले बताउनुभयो । 

विसं २०१६ असोज २० गते कैलालीमा जन्मनुभएका श्रेष्ठको पुख्र्यौली घर डोटीको सिलगढी बजारमा हो । शाखा अधिकृतका रूपमा २०३८ सालमा सरकारी सेवामा प्रवेश गर्नुभएका उहाँ २०८० भदौ ४ गते सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको थियो ।