स्याङ्जा समाचारदाता
स्याङ्जा, वैशाख ३ गते । पूर्वाधार विकास कार्यालय स्याङ्जाले छ वटा सडक निर्माणका लागि स्रोत सुनिश्चित गर्दै निर्माण कार्य अगाडि बढाएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले सिफारिस गरेका योजना (सडक) लाई अर्थ मन्त्रालयले बहुवर्षीय बजेट पक्का गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो ।
पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीले पहिलो चरणमा बायटारी–सेतीबेनी सडक, पुतलीखेत–सतौ–दरौँ सडक, मण्डलथान–किनारे–दामाचौर सडकको काम अगाडि बढाएको बताउनुभयो ।
पूर्वाधारले अर्जुनचौपारी–रापाकोट–सर्वोदय सडक, डिमुवा–कर्माचौर–गल्याङ सडक, पिपलडाँडा–बोधिभन्ज्याङ सडकको समेत टेन्डर खोल्ने प्रक्रिया अगाडि बढाएको छ । चार वटा प्रदेश सरकार अन्तर्गत रहे पनि छ वटा सडकको स्रोत सुनिश्चित गरी काम अगाडि बढेको हो ।
प्रदेश सरकारले छ वटै सडकलाई पाँच/पाँच करोड स्रोत सुनिश्चित गरेको अधिकारीले बताउनुभयो । टेन्डर खोलेर सम्झौतापश्चात् प्रकृति हेरेर एक वर्षदेखि दुई वर्ष अवधि दिएर काम हुने अधिकारीले बताउनुभयो । केही ठाउँमा सडक कटान, जाली, नालालगायतको स्तरोन्नति हुने छ भने धेरै सडक कालोपत्रे गरिने छ ।