• १२ असार २०८१, बुधबार

ढोडेँनी गाउँमा खानेपानी समस्या

blog

ढोडेँनी गाउँमा खानेपानी थाप्न राखिएका भाँडा । तस्बिर : होमराज रानाभाट

नवलपरासी समाचारदाता

गैँडाकोट, वैशाख ३ गते ।  मुख्य राजमार्गले छोएको तथा जिल्लाकै सुगम क्षेत्र मानिने गैँडाकोट नगरपालिका–३, ढोडेँनी गाउँका चार सय घरपरिवार खानेपानी सुविधाबाट वञ्चित छन् । पूर्वपश्चिम राजमार्गको गैँडाकोट नगरपालिका सुगम र विकसित पालिकाका रूपमा रहेको छ । मुख्य राजमार्गबाट सात किलोमिटर उत्तरमा रहेको ढोडेँनी गाउँमा अझै खानेपानी नपुग्दा दुई हजार परिवार शुद्ध खानेपानीबाट वञ्चित छन् । 

गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष शिवकान्त तिवारीले वडा नं. ३ र १८ को मुख्य समस्या भनेको खानेपानी भएको बताउनुभयो । अहिले वडा नं. ३ ढोडेँनी गाउँ भएर कालीगण्डकी कोरिडोरको निर्माण भई यातायातसमेत सञ्चालन हुने गरेको छ । जिल्लाकै सुगम क्षेत्र भएर पनि धेरै टाढाबाट पानी ल्याउन बजेटको समस्या भएको अध्यक्ष तिवारीको भनाइ छ । “यहाँका बासिन्दाले शुद्ध खानेपानी पिउन नपाएको धेरै भयो,” वडाध्यक्ष तिवारीले भन्नुभयो, “टाढाबाट खानेपानी ल्याउन बजेटको अभाव  छ ।”

गाउँबाट खानेपानीको मुहान करिब १६ किलोमिटर टाढा छ । अहिले पनि अस्थायी पाइप राखेर खानेपानी ल्याइए पनि कहिलेकाहीँ मात्र धारामा पानी आउने गरेको स्थानीय बताउँछन् । त्यो पानी पनि प्रयोगका लागि शुद्ध नभएको स्थानीय समाजसेवी टिएन आलेमगर बताउनुहुन्छ । 

ढोडेँनी गाउँबाट खानेपानीको मुहान भएको गडम्दी खोला करिब १६ किलोमिटर टाढा रहेको र यहाँबाट खानेपानी योजना सञ्चालन गर्न १० करोडभन्दा बढी रकम आवश्यक पर्ने बताइएको छ । सो रकम जुटाउन धेरै प्रयास गरे पनि सफल हुन नसकेको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अझै पनि सङ्घीय सरकार र गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराउने गरिएको छ तर पनि सुनुवाइ हुँदैन ।” 

सुगम गाउँ भएर पनि यहाँका जनताले खानेपानी जस्तो अति आवश्यक समस्यासँग जुध्नु परेको छ । चुनावको समयमा भोट माग्दा गाउँलेले एउटै प्रश्न खानेपानी चाहियो भन्ने माग तेस्र्याउने गरेका छन् । उम्मेदवारले पनि माग सम्बोधन हुन्छ भन्ने आश्वासन बाँड्ने र जितेर गएपछि समस्या जस्ताको त्यस्तै हुने गरेको वडाध्यक्ष तिवारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नगरपालिकाले एउटै योजनामा करोडौँ खर्च गर्न सक्दैन । सरकारको सहयोग चाहिएको छ ।”

शुद्ध खानेपानी नपाउँदा स्थानीयले नजिकको कुवा र तालतलैयामा संरक्षण गरी राखेको खानेपानी प्रयोग गरिरहेका छन् । सङ्घीय र प्रदेश सरकारको ढोकामा पुगेर स्थायी रूपमा योजना छनोट गर्ने र जनताको नैसर्गिक अधिकारका लागि लड्ने वडाध्यक्ष तिवारीले बताउनुभयो ।