• १९ वैशाख २०८१, बुधबार

बालविवाह रोक्न अन्तर्क्रिया

blog

बाजुरा समाचारदाता

बाजुरा, वैशाख ३ गते । बालविवाह रोक्नका लागि सरकारी तथा गैरसरकारी संस्थाले अभिभावकसँग अन्तर्क्रिया गरेका छन् । अभिभावककै मिलेमतोमा बालविवाह हुन थालेपछि सो कार्यलाई रोक्न अभिभावकसँग अन्तर्क्रिया कार्यक्रम सुरु गरेका हुन् । 

अभिभावकले बालविवाह गर्नेलाई संरक्षण दिन थालेपछि समस्या जटिल बन्दै गएको ग्रिनतारा नेपाल र रिड नेपालको गरिमा परियोजनाका सामाजिक परिचालक मनिता सुनारले बताउनुभयो ।

पढ्न छोडेर सानै उमेरमा विवाह गर्ने बालबालिकाकै अभिभावकले संरक्षण गर्दा पछिल्लो समय उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या निकै बढ्दै गएको छ । यसलाई रोक्न स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्था र प्रहरीलगायतको संयुक्त टोलीले अभिभावकसँग अन्तर्क्रिया सुरु गर्दै आएको सुनारले बताउनुभयो । 

कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने करिब १५ देखि १८ वर्ष उमेरका किशोरकिशोरीले सानै उमेरमा विवाह गर्ने गरेका छन् । घरको आर्थिक अभावले उच्च शिक्षा पढ्न नसक्ने अवस्था सिर्जना भएपछि बिचैमा पढाइ छोडेर विवाह गर्छन् । छोराछोरीले सानै उमेरमा बालविवाह गर्दा आमाबुवाले पनि त्यसैलाई स्वीकार गर्दै आएपछि अहिले यसलाई रोक्न सरकारी तथा गैरसरकारी संस्थाले अन्तर्क्रिया कार्यक्रम सुरु गरेका हुन् । बडीमालिका, त्रिवेणी, बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकालगायतका स्थानीय निकायमा पछिल्लो समय बालविवाह गर्नेको सङ्ख्या बढ्दो छ ।