• १९ वैशाख २०८१, बुधबार

प्रदेश सभा सदस्य गिरीको पुनर्बहाली

blog

नागरिक उन्मुक्ति पार्टीका तर्फबाट समानुपातिक प्रदेश सभा सदस्य इन्दिरा गिरी

अविनाश चौधरी

धनगढी, वैशाख २ गते । सुदूरपश्चिम प्रदेश सभाका सदस्य इन्दिरा गिरीको प्रदेश सभा सदस्यमा पुनर्बहाली भएको छ । प्रदेश सभा सदस्यबाट पदमुक्त गरिएपछि उहाँले सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सभामुखको २०८० चैत २६ गतेको निर्णय निर्देशन तथा तत्सम्बन्धी पत्रसमेत कार्यान्वयन नगर्नू नगराउनु भनेर आदेश जारी गरेको छ । 

साथै गिरीलाई सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सदस्यको हैसियतमा रहेर काम कारबाही गर्न रोक नलगाउनू भनी विपक्षीको नाउँमा आदेश जारी गरिएको छ । पार्टीको नियम विपरीत कार्य गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले गिरीलाई कारबाही गर्दै प्रदेशसभा सदस्यबाट हटाउन सुदूरपश्चिम प्रदेश सभा सचिवालयलाई पत्र पठाउनु भएको थियो । 

सोही पत्रको आधारमा प्रदेश सभा सचिवालयले गिरीलाई पदमुक्त गरेको थियो । गिरी नागरिक उन्मुक्ति पार्टीको समानुपातिकतर्फको प्रदेश सभा सदस्य हुनुहुन्छ ।