• १८ वैशाख २०८१, मङ्गलबार

कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं, वैशाख २ गते। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाउनुभएको छ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रतिनिधि सभाको चालु अधिवेशन आइतबार रातिदेखि अन्त्य हुनु स्वाभाविक भएको बताउनुभएको हो।उहाँले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बिचमा कम्तीमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरूप हिउँदे अधिवेशनको अन्त्य गर्नुपरेको बताउनुभयो ।

उहाँले हिउँदे अधिवेशन अन्त्यको सन्दर्भमा नेपाली कांग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको बताउनुभयो।उहाँले संसद् पुराना अनुभव लिएर चल्नुपर्ने भन्दै संसदीय प्रणालीलाई रक्षा गर्नुपर्ने बताउनुभयो।उहाँले नेपाली काँग्रेस ढिपी र जिद्दीमा जाने गरेको भन्दै यस्तो तरिकालाई काँग्रेसले सच्याउनुपर्ने बताउनुभयो।नेपाली कांग्रेसले संयमित ढङ्गले विधि अन्तर्गत समाधान खोज्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न अघिल्लो सरकारले ध्यानै नदिएको बताउनुभयो।उहाँले वर्तमान सरकार भर्खर आएकाले धेरै विधेयक पारित गर्न नसकेको बताउनुभयो।