• १२ साउन २०८१, शनिबार

मर्स्याङ्दीकाे जलाशयमा मोटरबोट सञ्चालन

blog

मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशायमा परिक्षणका लागि सञ्चालनमा ल्याईएको मोटरबोट । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख २ गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनमा ल्याइएको छ  । आँबुखैरेनी गाउँपालिकाले पर्यटक भुलाई स्थानीयलाई रोजगारी तथा आयआर्जन दिनका लागि मोटरबोट सञ्चालन गरेको हो । गाउँपालिकाले सञ्चालनको लागि मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोरासँग सम्झाैता गरी आजदेखि सञ्चालनका लागि अनुमति दिएको छ । 

मोटरबोटको आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । गाउँपालिकाले मोटरबोट सञ्चालन गर्न आँबुखैरेनी गाउँपालिकाले ९ पुसमा बोलपत्र आह्वान गरेको थियो । सोही अनुससार गाउँपालिकाले बोटेबोराको प्रस्ताव छनोट गरी मोटरबोट सञ्चालन सम्झौता गरिसकेकाले सञ्चालनमा ल्याइएको हो ।

नेपालकै पहिलो र ठुलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिनेछ । मोटरबोट सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा विकास भई पर्यटन क्षेत्रले फड्को मार्ने विश्वास गरिएको छ । जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अलकादेवी पनि रहेकाले धार्मिक पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष चुमानले भन्नुभयो, ‘‘जलशायको सदुपयोग गरी स्थानीयलाई रोजगारी र आम्दानी दिन मोटरबोट सञ्चालन गर्न लागेका हौं ।’’ जलाशयमा मोटरबोट सञ्चालनपछि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्ने अपेक्षा गाउँपालिकाको छ । मोटरबोट सञ्चालन पछि पृथ्वी राजमार्ग हुँदै यात्रा गर्नेलाई पर्यटकलाई आकर्षित गर्न सकिने अपेक्षा गाउँपालिकाले लिएको छ ।

प्रसिद्ध धार्मिक स्थल अकलादेवी पनि सोही जलाशय नजिक छ । धार्मिक पर्यटकलाई थप आकर्षित गर्न मोटरबोटले सहयोग गर्ने उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो । मोटरबोट सुरु भएपछि स्थानीय बासिन्दाका लागि सहज यात्रा गर्न, बिरामी ल्याउन र समान ओसारपसार गर्न उपयोगी हुने अपेक्षा गरिएको छ ।