• २० वैशाख २०८१, बिहिबार

त्रिपाठी र बन्धुलाई वाङ्मय पुरस्कार

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख २ गते ।  साहित्यकार वासुदेव त्रिपाठी र चूडामणि बन्धुलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले उहाँहरूलाई उक्त पुरस्कार प्रदान गरेको हो । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले धनगढीमा आयोजित एक कार्यक्रमका बिच सो पुरस्कार प्रदान गर्नुभयो । 

महाकाव्यकार तथा ज्योतिष मनिराज जोशी र छोरा गोविन्दराज जोशी, बुहारी तारा जोशी र छोरा वसन्तराज जोशीले मनिराज वाङ्मय पुरस्कार स्थापना गर्नुभएको थियो । सो पुरस्कार साहित्य तथा संस्कृति प्रतिष्ठानले हरेक वर्ष नेपालका मूर्धन्य साहित्यकारलाई प्रदान गर्दै आएको छ । 

उक्त पुरस्कार स्थापनाका लागि जोशी परिवारले १० लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ । विगत छ वर्षदेखि साहित्यकारलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । 

यसअघि सो पुरस्कारबाट राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्राज्ञ दधिराज सुवेदी, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द र उपन्यासकार, कथाकार तथा समालोचक तुल्सी भट्टराईलाई यो पुरस्कार प्रदान गरिसकेको छ । २०७८ र २०७९ सालमा प्राविधि कारणवश पुरस्कार वितरण हुन नसकेकाले यस वर्ष एकै पटक दुई जनालाई प्रदान गरिएको हो । सो अवसरमा साहित्यकार एवं पण्डित लक्ष्मीकान्त जोशी रेग्मी र साहित्यकार नारा जोशीलाई क्रमशः जयराज पन्त र नृपबहादुर स्वाँर पुरस्कार प्रदान गरियो ।