• १९ वैशाख २०८१, बुधबार

चार वर्षदेखि बन्द झापाको छोटी भन्सार सञ्चालन

blog

छोटी भन्सार कार्यालय गौरीगन्ज । तस्बिर : बिष्णुप्रसाद पोखरेल

बिष्णुप्रसाद पोखरेल
दमक, वैशाख १ गते ।
 चार वर्ष अघिदेखि बन्द रहेको झापाको गौरीगन्ज गाउँपालिकामा रहेको छोटी भन्सार कार्यालय सुचारु गर्न पहल सुरु भएको छ । भन्सार कार्यालयको नयाँ भवन बनेपनि भन्सार कर्मचारी नबसेपछि प्रयोजन विहीन बनेको छ ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले छोटी भन्सार कार्यालयको भवन स्थलगत निरीक्षण गरेर वैशाख महिनाभित्र नै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनु भएको गाउँपालिका अध्यक्ष फुलवती राजवंशीले बताउनुभयो । लामो समयको पहल र प्रयासपछि आठमौजा छोटी भन्सार सुचारु हुन लागेको उहाँको भनाइ छ ।

नेपाल सरकारले मन्त्रिस्तरीय बैठकबाट आठमौजा छोटी भन्सार कार्यालय नाकाको रूपमा विस्तार गर्ने निर्णय गरेतापनि अहिलेसम्म यसको काम अघि बढ्न सकेको छैन । चार वर्षदेखि छोटी भन्सार कार्यालय बन्द हुँदा स्थानीयले धेरै नै सास्ति खेप्दै आउनु परेको झापा उद्योग वाणिज्य सङ्घ गौरीगन्जका अध्यक्ष मखना महतोले बताउनुभयो ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले सकेसम्म वैशाख महिना भित्रै आवश्यक कर्मचारी खटाएर छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याउने जनाउनुभयो । सबैको साथ र सहयोग भएमा राजश्व सङ्कलनमा यस नाकाले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको पनि उहाँले बताउनु भएको छ ।

गौरीगन्जबाट नजिकै भारतको फत्तेपुर बजार रहेको छ । यहाँ दैनिक रूपमा सयौँ नेपालीहरू दैनिक किनमेलका लागि जाने गरेका छन् । वयापारीहरुले समेत यो नाका प्रयोग गर्ने गरेको बताइन्छ । दैनिक उपभोग्य सामग्रीहरूको तेल, लसुन, चिनीलगायतका खाद्यवस्तुहरू र कपडा लगायतका चिजहरू यो नाका भएर अवैध रूपमा भित्रिरहेको जनाइएको छ ।