• ८ जेठ २०८१, मङ्गलबार

एकलहरुको पीडा बिसाउने छहारी कृषि

blog

ललितपुर, वैशाख ३ गते । “एक महिलाको चुनौती भनौं कि कमजोरी, बोल्न एकदम अक्मकाउनु हुन्छ, आफ्नो परिचय भन्न पनि लजाउनुहुन्छ ।  मानव अधिकारका लागि एकल महिला समूहकी केन्द्रीय बोर्ड सदस्य सबिता महर्जनले भन्नुभयाे, “लाज भनेको महिलाको गहना हो भन्ने परम्परागत सिद्धान्त छ ।”

यस्तै आफ्नो पीडा बाहिर व्यक्त गर्न नसक्ने एकल महिलाको व्यक्तित्व विकासका लागि २०६८ सालमा एकल महिला समूह गठन भएको उहाँको भनाइ छ । क्षमता र व्यक्तित्व विकाससँगै आत्मसम्मानपूर्वक जीवन बाँच्नका लागि आर्थिक विकास हुनुपर्ने उहाँको भनाइ छ ।

मानव अधिकारका लागि एकल महिला समूह, ललितपुरको जिल्ला अध्यक्ष समेत रहनुभएकी महर्जनको नेतृत्वमा करिब तीन वर्षअघि छहारी कृषि एकल महिला फार्म दर्ता भयो । महर्जनले भन्नुभयो, “एकल भएर अरु सरह हुन सक्दैनौं भन्नु आफूलाई कमजोर पार्ने सोच मात्र हो । हामी समाजदेखि तर्सिन्छौंं । समाजले वा परिवारले औंला उठाउला भन्ने हामीलाई साह्रै पीर हुन्छ । किनभने, हामी समाजसँग जोडिएका, बाँधिएका छौं ।” उहाँले सुरुमा एकल महिला समाजको डरले संस्थामा संगठित हुन समेत अप्ठ्यारो मान्ने गरेको बताउनुभयो ।

ललितपुर महानगरपालिका वडा २७ सुनाकोठीस्थित सो कृषि फार्म २५ जनाबाट सुरु भएकोमा हाल आबद्ध सदस्य सङ्ख्या ३५ पुगेको छ । एकल महिलालाई हेर्ने सामाजिक दृष्टिकोण एवम् ती महिलाको जीवनयापन परिवर्तनका लागि २०७२ सालमा रातो टीका, चुरा र पहिरन लगाउने अभियानको सुरुवात गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “जन्मसिद्ध अधिकार पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । एकल महिला–पुरुष बराबर भनेर २०७२ मा रातो अभियान पनि ग¥यौंं । पहिला आमाहरुले रातो साडी पनि लाउनुहुन्थेन । धिमे बाजाको साथमा गाउँ–गाउँ घुमेर रातो अभियान सफल पा¥यौं । समाजले अपहेलना नगरोस्, सम्मानजनक बाँच्न पाउनुपर्छ भनेर सचेतना कार्यक्रम ग¥यौं ।”

कृषि फार्ममा ४० देखि ७० वर्षभन्दा बढी उमेरका वृद्धा एवम् एकल महिला श्रम गर्नुहुन्छ । परिवार र समाजमा फरक व्यवहारको अनुभूति भएपछि मनको दुःखसुख बिसाउन उहाँहरु फार्ममा आउने गरेको पनि देखिन्छ । 

६० वर्षीय सानुमाया महर्जन भन्नुहुन्छ, “म एकल भएको १६ वर्ष भइसक्यो । सबै साथीभाइ मिलेर तरकारी उत्पादन भएकोमा एकदम खुसी छु । अलिअलि पैसा पनि जम्मा गरेका छौंं । घरमा त्यत्तिकै किन बस्ने < यहाँ आयो काम ग¥यो, मकै, रोटी खाजा के छ खायो । साथीहरुसँग हाँसखेल पनि हुन्छ ।” 

यस्तै, ४७ वर्षीय प्रेमकुमारी महर्जनले समूहमा काम गर्दा प्रगति भएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “पहिलाभन्दा धेरै कुरा जानियो । कमसेकम समूहमा नाम भन्न त सक्ने भइयो ।घरमा बस्दा मनमा के के कुरा खेल्छ । आफ्नो श्रीमान् छैन, कोसँग पैसा माग्नु < यहाँ हाँसखेल गरेर काम गरे बापत पैसा पनि पाइन्छे ।”

संस्थापक महर्जनले एकल महिलाका लागि सामाजिक सुरक्षा भत्ताको नीति निर्माण भए पनि यो कार्यान्वयन हुन नसकेको बताउनुभयो । छहारी कृषि एकल महिला फार्मका संस्थापक सबिता महर्जन र फार्ममा आबद्ध एकल महिलासँग गोरखापत्र अनलाइनका लागि सपना थामी र केशव गुरुङले तयार पार्नुभएको भिडियो अन्तरवार्ताः

भिडियो सम्पादनः मनोजरत्न शाही 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।