• ४ जेठ २०८१, शुक्रबार

रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्‍यो : जेलेन्स्की

blog

किभ (युक्रेन), चैत २९ गते । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले “महत्त्वपूर्ण पूर्वाधार“ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताउनुभएको छ । 

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत रुसी हमलाका बारेमा जानकारी दिँदै केही क्षेप्यास्त्र र ड्रोनलाई युक्रेनी प्रतिरक्षा फौजले सफलतापूर्वक खसालिदिएको बताउनुभएको छ ।

रुसले युक्रेनका विद्युत, सञ्चार, रेल्वे समेतका महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरेकामा उहाँले असन्तुष्टि व्यक्त गर्नु भएको छ । यी आक्रमणबाट कुनै पनि व्यक्ति हताहत नभएको पनि युक्रेनको भनाइ छ ।

रुसले राजधानी सहर किभ, जापोरिझिया र ओडेसाका साथै पोल्यान्डसँग सीमा जोडिएको लभिभ सहरलाई पनि लक्षित गरी आक्रमण गरेको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनको दोस्रो ठुलो सहर खार्किब र त्यस वरपरको क्षेत्रमा पनि क्षेप्यास्त्रहरूबाट आक्रमण गरेको बताउनु भएको छ । यस सहरलाई केन्द्रित गरेर पछिल्ला दिनहरूमा रुसले निरन्तर आक्रमण गरिरहेको छ ।

युक्रेनका गृहमन्त्री आइगोर क्लिमेन्कोले देशका विभिन्न भागमा सयौँ उद्धारकर्मीहरू परिचालन गरिएको जानकारी दिनुभएको छ ।

यसैबिच, रुसले पनि रुसका विभिन्न सहरलाई लक्षित गरी प्रहार गरिएका १२ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । युक्रेनले पनि रुसका विभिन्न भागमा ड्रोन मार्फत केही महिनादेखि लगातार हमला गरिरहेको छ । रासस/एएफपी