• १९ वैशाख २०८१, बुधबार

अभियोगबाट जोगिन ‘डिभोर्स’ को नाटक

blog

बोमलाल गिरी

नवलपुर, चैत २९ गते । नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गोपीकृष्ण शर्मा अरू दिन जस्तै बुधबार पनि कार्यालयमै झन्डै ५०/६० जना बचतकर्ताको घेराबन्दीमा हुनुहुन्थ्यो । “हाम्रो पैसा कहिले दिने ?” भन्ने बचतकर्ताको प्रश्नमा उहाँसँग कुनै जवाफ थिएन । बरु प्रहरीकोमा तारिख धाउन हतार भयो भन्दै भिडबाट उम्कने प्रयास गरिरहनुभएको थियो ।  

बचतकर्ताको झन्डै १० करोड रुपियाँ हिनामिनाको आरोपमा छिपछिपे सहकारीका प्रबन्धनिर्देशक योगेन्द्र पाण्डेसहित छ जना प्रहरी नियन्त्रणमा छन् तर अध्यक्ष शर्मा भने नियमित उपस्थित हुने गरी तारिखमा हुनुहुन्छ । त्यसैले उहाँलाई प्रहरीले उपस्थित हुन दिएको समय घर्किन लागेकाले बचतकर्ताको प्रश्नमा उहाँको ध्यान थिएन । 

रकम हिनामिना भएको निवेदन परेपछि दुई महिना अनुसन्धान गरेको सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले वर्तमान र केही पूर्वपदाधिकारीको समेत संलग्नता देखिएको प्रतिवेदन दिएको छ । उक्त प्रतिवेदनका आधारमा प्रहरीले पनि अनुसन्धानलाई तीव्रता दिएको छ । हालसम्म नवलपुर प्रहरीले सहकारीको रकम हिनामिना गरेको आरोपमा छ जनालाई पक्राउ गरेको छ । 

छिपछिपेका प्रबन्धनिर्देशक योगेन्द्र पाण्डे, सनराइज ऋण तथा सहकारी संस्था चितवनका तत्कालीन अध्यक्ष नगेन्द्रबाबु रिमाल र सहकारीबाट हिनामिना गरिएको रकम व्यवस्थापन गर्ने बर्दियाका शिवलाल लामिछानेलाई पक्राउ गरेको छ भने मङ्गलबार थप तीन जनालाई पक्राउ गरेको छ । उनीहरूसँगै अनियमिततामा जोडिएका थप व्यक्ति भाग्न सक्ने भन्दै मङ्गलबार पक्राउ परेका थप तीन जनाको नाम सार्वजनिक नगरिएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

 ‘डिभोर्स’ को नाटक

यसअघि एक कार्यकाल लेखा समितिको संयोजक भएर काम गरिसकेका छिपछिके सहकारीका अध्यक्ष गोपीकृष्ण शर्माले प्रबन्धनिर्देशक योगेन्द्र पाण्डेको अनियमितताका कारण सहकारी डुबेको बताउनुभएको छ । सहकारी तीन चार वर्षदेखि नै अनियमित ढङ्गले सञ्चालन भइरहेको उहाँको भनाइ छ । यही बिचमा उहाँले आफ्नो छोरीलाई अंश दिनुका साथै श्रीमतीलाई पनि अंश दिएर कागजी रूपमा सम्बन्धविच्छेद (डिभोर्स) गर्नुभएको छ । 

कावासोती वडा नं. ४ को अभिलेख अनुसार उहाँले ठिक एक महिनाअघि २०८० फागुन २८ गते श्रीमतीसँग सम्बन्धविच्छेद गर्नुभएको देखिएको छ तर सम्बन्धविच्छेद भए पनि आफू अहिले पनि श्रीमतीसँगै बसिरहेको उहाँ आफैँले बताउनुभएको छ । 

यसलाई बचतकर्ताले भने अनियमितताबाट जोगिन गरेको नाटक भनेका छन् । “सहकारी डुबाएपछि श्रीमती र छोरीलाई अंश दिएर श्रीमतीसँग कागजी रूपमा डिभोर्स गरी आफ्नो नाममा केही पनि छैन भन्ने पार्नका लागि गरिएको यो एउटा नाटक मात्र हो,” पीडित बचतकर्ता कावासोती–३ का केदार दाहालले भन्नुभयो, “उपभोक्ताले यत्तिकै छोड्नेवाला छैनन्, सम्पत्ति कति छ त्यो त प्रहरीले पनि छानबिन गर्ला ।”

तर अध्यक्ष शर्माले भने पारिवारिक कलहका कारण आफूले श्रीमतीसँग सम्बन्धविच्छेद गरेको र बाध्यताले सँगै बस्नु परेको बताउनुभएको छ । “मेरो घरमा पारिवारिक कलह थियो, त्यसै कारणले सम्बन्धविच्छेद गरिएको हो, बस्न सँगै बसे पनि मैले आश्रय मात्र लिएको हुँ । अंशबन्डा गरेको भदौ असोजतिर हो ।”

तर उहाँले अंशबन्डा गरेको बताए पनि मालपोतबाट जग्गा पास भएको भने देखिन्न । जिल्ला मातपोत कार्यालय स्रोतका अनुसार उहाँको आफ्नै नाममा कावासोतीमा कित्ता नं. १८४ को ०–२–३–० र कित्ता नं. ४७५ को –०–१–१५ मात्र जग्गा छ । त्यस्तै यशोदाकुमारी काफ्ले, धर्मराज भुसाल र अध्यक्ष शर्माको संयुक्त जग्गा कावासोतीमै २५६ कित्ताको ०–१२–५, कित्ता नं. २५५ को ०–१२–५, ५८ कित्ता नं. को ०–३–१०–० र १५७ कित्ताको ०–१२–१२–० धुर जग्गा देखिएको छ । 

तर उहाँका छिमेकी बचतकर्ताले भने पहिलेदेखि नै श्रीमती र आफन्तको नाममा जग्गा राखेको आशङ्का गरेका छन् । जिल्ला अदालत स्रोतका अनुसार सम्बन्धविच्छेद भए पनि ३५ दिनभित्र मिसिल मालपोतमा पठाउनु पर्छ । त्यो समय अझै भएको छैन । अनि श्रीमतीको नाममा सम्पत्ति कति छ भन्ने पनि खुल्न सकेको छैन । यसको प्रहरीले पनि अनुसन्धान गरिरहेको जनाएको छ । 

पीडितबाट निवेदन माग

सञ्चालक समिति र कर्मचारीको मिलेमतोमा बचतकर्ताको रकम हिनामिना गरिएको छिपछिपे उपभोक्ता सहकारी संस्थाका पीडितले प्रमाणसहित निवेदन दिन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । उक्त संस्थामा बचत गरेकाले साँवा ब्याजसहितको रकम फिर्ता नपाएको भए अनुसन्धान प्रयोजनार्थ प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन अनुरोध गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा बचत फिर्ता लिन पर्नेले आआफ्नो पास बुक, नागरिकताको फोटोकपीसहित निवेदन दिनुपर्ने उल्लेख छ । त्यही प्रमाणका आधारमा अनुसन्धान हुने प्रहरीको भनाइ छ ।