• १२ मंसिर २०८१, बुधबार

सहाराको खोजीमा हलियाका बालबालिका

blog

सहाराको खोजीमा रहेका जगनाथ गाउँपालिका-३ हलिया परिवारका बालबालिका । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, चैत २८ गते । बाजुरामा बसोबास गर्दै आएका हजारौँ हलिया परिवारका बालबालिका यतिबेला सहाराको खोजीमा छन् । अर्काको घरमा काम गरी पेट पाल्दै आएका हलिया परिवारलाई पछिल्लो समय साहुले धमाधम घरबाट निकाल्न थालेपछि बालबालिका सहाराको खोजीमा रहेका हुन् ।

पुस्तौँदेखि अर्काको घरमा हलिया बसेर छोरा छोरीको पेट पाल्दै आएकी थिएँ । पछिल्लो समय साहुले धमाधम घरबाट निकाल्न थालेपछि अहिले छोरा छोरीलाई पाल्न तथा पढाउन निकै समस्या भएको छ, जगनाथ गाउँपालिका–३ की किणी विकले भन्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले केही वर्ष यता गाउँमा हलिया मुक्तिको नारा लगाउन सुरु भयो । त्यसकै कारण साहुले आफ्नो घरबाट निकाली दिएपछि अहिले छोरा छोरीलाई पढाउन त के बिहान बेलुकीको खाना खुवाउने समेत मुस्किल छ ।”

जिल्लामा बसोबास गर्दै आएका हलिया परिवारलाई सरकारले सेवा सुविधा दिने भनेपनि आफूले अहिलेसम्म कुनै सेवा नपाएर अर्काको घरमा काम गरेर पेल्ट पाल्ने गरेको विकले बताउनुभयो । हलिया बसेर खान समेत धौधौ परेका ती परिवारका बालबालिकालाई राम्रोसँग पढ्न त के बिहान बेलुका पेट पाल्न समेत निकै कठिन भएपछि उनीहरू अहिले विभिन्न निकायमा सहयोग माग्न पुगेका छन् ।

जिल्लामा चलेको हलियाको व्यवस्थापनको नाराले साहुले धमाधम घरबाट निकाल्न थालेपछि अहिले हलिया परिवारको अवस्था निकै दयनीय बनको छ । गाउँमा अन्य परिवारका बालबालिकाहरूले विद्यालयमा पढ्दै गरेको भएपनि हलिया परिवारका बालबालिकाहरू भने स्वास्थ्य र शिक्षा पाउनबाट सधैँ वञ्चित हुँदै आएका छन् ।

हलिया परिवारका छोरा छोरीको पढेर ठुलो बन्ने चाहाना भएपनि घरको आर्थिक स्थिति निकै दयनीय हुँदा उनीहरूको त्यो चाहाना केवल सपनामै सीमित हुने गरेको छ । कतिपय हलियाका बालबालिका एक दुई कक्षाको पढाइ छोडेर रोजगारीका लागि छिमेकी मूलक भारतका विभिन्न ठाउँमा जाने गरेका छन् । 

कामको खोजीमा भारत जान बाध्य भएको जगनाथ गाउँपालिका –३ का हलिया पवित्रा विकका छोरा रमेश विक बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जिल्लामा रहेका हलिया परिवारका बालबालिकाहरूका लागि गाउँमा विद्यालयको राम्रो व्यवस्था हुनुपर्ने हलियाको परिचय पत्रमा उल्लेख छ ।”

तर अहिले गाउँमा विद्यालय नहुँदा म जस्तै यहाँका अन्य सयौँ हलियाका बालबालिका पढाइबाट वञ्चित हुँदै आएको विकले बताउनुभयो । उसो त हलिया परिवारकालाई खान बस्न स्वास्थ्य शिक्षा लगायतका विभिन्न सेवा प्रदान गर्ने भनिएको छ । तर पनि बाजुराका हलिया परिवारको अवस्था भने जसो पहिला थियो अहिले पनि उस्तै छ ।

जिल्लाको पूर्विउत्तर क्षेत्रका हिमाली, बुढीनन्दा, स्वामिकार्तिक, जगनाथ र बूढीगङ्गा नगरपालिकाको बह्रतोला लगायतका गाउँमा एक हजार ६३५ भन्दाबढी हलिया घरपरिवार बसोबास गर्दै आएका छन् । यो समस्या त रमेश विकको मात्र होइन बाजुराका एक हजार ६३५ भन्दाबढी हलिया घरपरिवारका झण्डै दुई हजार भन्दाबढी बालबालिकाको पीडा पनि उस्तै छ ।

सरकारी तथा गैरसरकारी संस्थाले हलिया मुक्तिको नारा त ल्यायो तर अहिले सम्म केही सुविधा भने दिएन, विकले भन्नुभयो, “सरकारबाट केही सुविधा नपाएपछि अहिले हामी पुस्तौँ देखि साहुको घरमा बसेर पेट पाल्दै आएका छौँ । जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाले लगाएको त्यो नाराको डरले साहुले घरबाट निकाली दिएपछि अहिले नत घर नत घाटका भयौँ ।

स्वामिकार्तिक जगनाथ गाउँपालिका लगायतका विभिन्न ठाउँमा बस्दै आएका हजारौँ हलिया परिवारमा सयौँ भन्दा बढी बालबालिका टुहुरा रहेको सहिद प्रतिष्ठान बाजुराका अध्यक्ष विनीता विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यी आमा बुवा नभएका बालबालिकाहरूको पालन पोषण शिक्षा स्वास्थ्यमा सहयोग गरिदिनका लागि अहिले आफू विभिन्न निकायमा पहल गर्दै आएको छु । ”

राज्यले हलियाका व्यवस्थापनका कुरा गरेपनि बाजुराका हलियाको अवस्था भने जस्ताको त्यस्तै रहेको छ । हलियाको घरबासका लागि आएको रकम सहिठाउँमा प्रयोग नहुँदा अहिले हलिया परिवारले दुख पाउनु परेको सहिद प्रतिष्ठान बाजुराका अध्यक्ष विनीता विकले बताउनुभयो ।