• १४ मंसिर २०८१, शुक्रबार

मनाङमा यार्सा सङ्कलन गर्न अनुमति

blog

यदुप्रसाद भट्ट

मनाङ, चैत २८ गते । वैशाख पहिलो हप्ताबाट मनाङमा यार्सा सङ्कलनका लागि अनुमति दिइने भएको छ । विकट पालिका नार्पाभूमिको नार र फूबाहेक अन्य स्थानमा मनाङी लगायत अन्य जिल्लावासीका लागि अनुमति दिने गरी तयारी थालिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । 

मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बाका लागि उपर्युक्त सिजनका रूपमा लिइन्छ । यार्सा खोज्ने क्रममा २०६६ सालमा नारस्थित नाम्ग्यखर्कमा गोरखाका ७ जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि मनाङको साबिकको नार र फू गाउँ विकास समितिमा यार्सा सङ्कलन रोकिएको थियो । 

जिल्लाभित्र यार्सागुम्बाको सिजन सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । उहाँले सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै विगतको जस्तो घटना नहोस् भनी सजगता अपनाइएको जानकारी दिनुभयो । पर्याप्त सुरक्षाकर्मी परिचालन गर्न नसकिने जानकारी गराउँदै उहाँले निधेषको मानसिकता त्यागी जिम्मेवार बन्न आग्रह गरिएको बताउनुभयो । ‘यसलाई व्यवस्थित गर्ने कानुन भनेको यससँग सम्बन्धित निर्देशिकामा यार्सा सङ्कलनको व्यवस्थापन संरक्षण समितिले गर्ने उल्लेख छ । "राज्यबाट शुल्क लिने कर लगाउने भनेको कुराहरू त अधिकारप्राप्त निकायले गर्नुपर्ने हो तर कानुनीरुपमा स्पष्ट नभएकाले यसलाई उपयुक्त फोरममा कुरा उठाउनुहोला," उहाँले भन्नुभयो, "यो जल्दोबल्दो विषय भएकाले अहिलेलाई साबिकमा जे भएको छ, त्यही किसिमले जान उपयुक्त होला भन्ने हाम्रो बुझाइ छ ।"

यही २२ गते बसेको छलफलमा समन्वय प्रमुख, पालिकाका अध्यक्षहरू, सुरक्षा निकायका प्रमुख र संरक्षण समितिका पदाधिकारीहरू सहभागी थिए । संरक्षण समितिका पदाधिकारीहरू सुरक्षाका सवालमा अग्रपंक्तिमा रही जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको थियो । उहाँले भन्नुभयो, "सुरक्षाकर्मी छन् भनेर सोच्यो भने कहीँ पनि सुरक्षा हुँदैन, हाम्रो सुरक्षाकर्मी तपाईँहरूको साथमा हुनुहुन्छ, ती सूचनाहरू समयमा दिने, आवश्यक सहयोग र समन्वय गर्ने कुरामा सहमति भएको छ ।" उहाँले अधिकारको उपयोग गर्नमा संरक्षण समितिका पदाधिकारीहरू नै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले यार्सा सङ्कलनका लागि ३५ हजार शुल्क तोकिएको बताउनुभयो । उहाँले विगतमा जस्तै नार र फूमा अन्य जिल्लाकालाई यार्सा सङ्कलनमा रोक लगाइएको बताउनुभयो । उहाँले नार्पाभूमिको नार र फू संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिकोणबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी अन्य जिल्लाकालाई यार्सा सङ्कलनमा रोक लगाइएको बताउनुभयो । जिल्लामा वैशाख पहिलो हप्ताबाट र नार्पाभूमिमा जेठ दोस्रो हप्ताबाट मात्रै यार्सा सङ्कलन सुरु हुने उहाँको भनाइ छ । 

संरक्षणकर्मी तथा नासो–८ का वडाध्यक्ष याद घलेले जिल्लाले अनुमति दिइसकेको र छिट्टै समितिको बैठक बसी यार्सा सङ्कलन सुरु गरिने बताउनुभयो । उहाँले बैठकले निर्णय गरेबमोजिम पुर्जी काटेर सङ्कलनका लागि अनुमति दिने तयारी गरिएको बताउनुभयो । पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने सङ्कलनकर्तालाई सहज रूपमा खर्कतर्फ जान अनुमति दिइने घलेले बताउनुभयो ।

यार्सागुम्बा सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङले स्वीकृति दिएपछि मनाङसँगै गोरखा र लमजुङका स्थानीय पनि यार्सागुम्बा सङ्कलन गर्न मनाङको लेक पुग्ने गर्दछन् । नार घटनापछि एक्यापले मनाङले यार्सा सङ्कलनलाई व्यवस्थित बनाउन थालेको छ । चारवटा स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । 

मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकहरूले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ । मनाङको नाम्ग्य खर्क, किचो लेक, याक खर्क, घुम्रे लेक, पिसाङ लेक, नाप्ले लेक, फुकु लेकलगायतका लेकहरू यार्सागुम्बा बढी पाइने स्थानमा पर्दछन् । यार्सागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिनेछ । असारको पहिलो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्न सकिने समय हो ।