• २४ वैशाख २०८१, सोमबार

एमाले हुम्लाको जिल्ला अधिवेशन एक दिनपछि सर्‍यो

blog

राजन रावत

हुम्ला, चैत २८ गते । नेकपा एमालेको दसौँ जिल्ला अधिवेशन एक दिनपछि सरेको छ । हवाई सेवा अवरुद्ध हुँदा अधिवेशनको उद्घाटन सत्रमा आउन लाग्नुभएका प्रमुख अतिथि एमाले सचिव लेखनाथ भट्ट आउन नपाएपछि अधिवेशन एक दिनपछि सारिएको हो । 

बुधबार सुर्खेतबाट सिमकोट आउने कार्यक्रम रहेको भएपनि हवाई सेवा अवरुद्ध हुँदा प्रमुख अतिथि भट्ट आउन नपाएपछि अधिवेशन एक दिन पछि सरेको एमाले हुम्लाका सचिव तीर्थराज बोहराले बताउनुभयो । पहिलेको तालिका बुधबार बिहान एघार बजेबाट अधिवेशनको उद्घाटन कार्यक्रम गर्ने रहेको थियो । उहाँले अब चैत २९ गते बिहीबार बिहान नौ बजेबाट अधिवेशनको उद्घाटन कार्यक्रम हुने बताउनुभयो । एमाले कर्णालीका इन्चार्ज समेत रहनुभएका भट्ट सहित एमाले केन्द्रीय सदस्य दलबहादुर रावल, दलबहादुर फडेरा र छक्कबहादुर लामा पनि आउने कार्यक्रम थियो ।

जिल्ला अधिवेशन प्रतिनिधिहरू भने सदरमुकाम सिमकोट पुगेका छन् । वडा र गाउँपालिका कमिटीबाट एमाले जिल्ला अधिवेशनका लागि १७८ जना प्रतिनिधि छनौट भएका छन्। त्यसैगरि ९८ जनाको आयोजक कमिटी गरी २९८ जना प्रतिनिधिले दशौँ जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्नेछन् । 

एमाले जनवर्गीय सङ्गठनबाट समेत अधिवेशन प्रतिनिधिको व्यवस्था गरेको छ । अधिवेशनका लागि ३३ प्रतिशत महिला र चालीस वर्ष मुनीका १५ प्रतिशत प्रतिनिधि छनौट भएको एमाले हुम्लाले जनाएको छ । यसअघि नै दसौँ जिल्ला अधिवेशनका लागि हुम्लाको वस्तुस्थिति झल्किने गरी लोगो सार्वजनिक गरिएको थियो ।  

अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको कारण माओल अझै तातेका हो । हालसम्म एमाले हुम्लाको नेतृत्वका लागि वर्तमान कावा अध्यक्ष डबल रावत, पूर्व उपाध्यक्ष ज्ञानी बुमी आकाङ्क्षी देखिएका छन् भने गोविन्द बहादुर शाहीको पनि चर्चा चल्न थालेको छ । अधिवेशनको उद्घाटनका लागि एमाले सचिव पृथ्वी सुब्बा गुरुङ हुम्ला आउने कार्यक्रम रहेको भएपनि अन्तमा गुरुङ नआउने भएका हुन् । 

अधिवेशनका लागि नेकपा एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगी र हुम्ला जिल्ला इन्चार्ज नागेन्द्र शाही गत सोमबार हुम्ला पुग्नुभएको छ ।