• १८ वैशाख २०८१, मङ्गलबार

नेपालको टी–२० विश्वकप जर्सी सार्वजनिक

blog

नेपालको टी–२० विश्वकप जर्सी सार्वजनिक गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौँ, चैत २६ गते । आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा सोमबार आयोजित कार्यक्रमबिच युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले जर्सी सार्वजनिक गर्नुभयो । 

नयाँ जर्सीको तल गैँडा र सगरमाथा छ । जर्सीको बिचमा नेपाल लेखिएको छ भने रङ्ग निलो, रातो, हल्का मधुरो, पहेलो  र सेतो रहेको छ । बायाँतर्फ क्यान र दायाँतर्फ आइसिसी टी–२० विश्वकपको लोगो रहेको छ ।

यस्तै दुवै बाउलामा नेपालको झण्डा राखिएको छ । जर्सीको पछाडिको भागमा खेलाडीको नाम र नम्बर पनि रहनेछ । टी–२० विश्वकप आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा हुँदैछ ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।