• २४ वैशाख २०८१, सोमबार

राष्ट्रपतिद्वारा घोडेजात्राको अवलोकन

blog

राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा सोमबार टुँडिखेलमा आयोजित घोडेजात्रा समारोहमा सहभागी हुनुहुँदै ।

काठमाडौं, चैत २६ गते । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा सोमबार टुँडिखेलमा आयोजित घोडेजात्रा समारोहमा सहभागी हुनुभएको छ ।

समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन पनि गर्नुभयो । सो अवसरमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएको थियो । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

चैत्र कृष्ण औँसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाउने गरिन्छ । यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालीन समयमा सहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरेको मान्यता छ । तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई हानी गर्न सक्ने भयका कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी सहरभर घोडा कुदाउने प्रचलन रहेको पाइन्छ ।

घोडा कुदाउँदा उसको टापले ‘गुरुमापा’ भन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दुःख दिन नसक्ने र बालबालिकामाथि खतरा नहुने  जनविश्वास रही आएको छ । घोडेजात्रा कै दिन  काठमाडौँको टुँडिखेल नजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा छ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा गरेको अश्वकला प्रदर्शन समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो ।

यो पनि पढ्नुहोस