• १८ वैशाख २०८१, मङ्गलबार

आयरल्यान्डद्वारा सिरिजमा ‘क्लिन स्विप’

blog

काठमाडौँ, चैत २५ गते । आरउल्यान्ड ‘ए’ ले नेपाल  ‘ए’ विरुद्धको एक दिवसीय सिरिज ‘क्लिन स्विप’ गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई ६९ रनले हरायो ।

यससँगै आयरल्यान्ड सिरिजमा ३–० ले विजयी भयो । नेपाल आयरल्यान्डसँग पहिलो खेलमा २१ रन र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो । जितका लागि दुई सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा सबै विकेटको  क्षतिमा दुई सय १५ रनमा समेटिएको थियो ।


नेपालका लागि युवा ओपनर अर्जुन कुमालले शतकीय पारी खेले पनि हार टरेन । कुमालले एक सय १८ बलमा १४ चौकाको सहयोगमा एक सय दुई रन बनाउनुभयो । यस्तै अर्जुन साउदले ३६, नरेना भट्ट र रुपेश सिंहले १५/१५ तथा देव खनालले ११ रन बनाउनुभयो । 


बलिङमा आयरल्यान्डका लागि वेन ह्वाइटले पाँच विकेट लिनुभयो । ग्याभिन होयले चार तथा म्याथ्यु फोस्टरले एक विकेट लिनुभयो । यसअघि  टर जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २८४ रन बनाएको थियो । 

आयरल्यान्डका लागि स्टेफन डोहिनीले १२९ बलमा आठ चौका र दुई छक्काको सहयोगमा १०७ रनको शतकीय पारी खेल्नुभयो । यस्तै पिटर मोरले ४४, म्याथ्यु हम्प्रेसले २३, मोर्गन टोपिङले २१, फिओन ह्यान्डले २०, बेन ह्वाइटले अविजित १९ र गाभिन होयले १४ रन जोड्नुभयो ।


बलिङमा नेपाल ‘ए’ का लागि रिजन ढकाल र रन्जित कुमारले तीन तीन विकेट लिनुभयो । विकास आग्री र साहब आलमले एक एक विकेट लिनुभयो । पाहुना टोली आयरल्यान्डले यसअघि नेपालविरुद्ध टी–२० सिरिज २–१ ले जितेको थियो ।